१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तरी एटलान्टिकमा अमेरिकाले कब्जा गर्‍यो रुसी झण्डा भएका तेल ट्याङ्कर

संयुक्त राज्य अमेरिकाले उत्तरी एटलान्टिक महासागरमा दुई वटा रुसी झण्डा फहराइएका तेल ट्याङ्कर कब्जा गरेको छ। अमेरिकी अधिकारीका अनुसार कब्जामा परेका ट्याङ्करहरू मारिनेरा (पहिले बेला–१) र सोफिया हुन्, जसलाई भेनेजुएलासँग सम्बन्धित ‘घोस्ट फ्लीट’ का रूपमा चिनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी तटरक्षक बल र अन्य सैन्य इकाइको समन्वयमा गरिएको संयुक्त अपरेशनअन्तर्गत ती ट्याङ्करहरू नियन्त्रणमा लिइएको हो।  ती जहाजहरू अमेरिकी प्रतिबन्ध उल्लङ्घन गर्दै भेनेजुएलाको कच्चा तेल ढुवानीमा संलग्न रहेको आशंका गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले उल्लेख गरेका छन् ।  

अमेरिकी अधिकारीहरूले मारिनेरा ट्याङ्करलाई उत्तरी एटलान्टिक क्षेत्रमा लामो समयदेखि निगरानीमा राखिएको र संघीय अदालतबाट अनुमति लिएपछि नियन्त्रणमा लिइएको बताएका छन्। सो जहाजले पहिचान लुकाउन नाम, झण्डा र कागजात पटक–पटक परिवर्तन गरेको दाबी पनि गरिएको छ।

त्यस्तै, सोफिया ट्याङ्करलाई क्यारिबियन क्षेत्र नजिकै नियन्त्रणमा लिइएको बताइएको छ। दुवै ट्याङ्कर पछिल्लोपटक भेनेजुएलासँग जोडिएका बन्दरगाहमा पुगेको वा त्यहाँतर्फ गइरहेको अमेरिकी गृह सुरक्षा निकायका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अमेरिकी पक्षले यो कदम भेनेजुएला र रुससँग सम्बन्धित प्रतिबन्ध उल्लङ्घन गर्ने अवैध तेल कारोबारविरुद्धको अभियानको हिस्सा भएको जनाएको छ। पछिल्ला वर्षहरूमा रुस र भेनेजुएलाले प्रतिबन्ध छल्न ‘घोस्ट फ्लीट’ प्रयोग गर्दै आएको आरोप अमेरिकाले लगाउँदै आएको छ।

यस घटनाप्रति रुसले आपत्ति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसी अधिकारीहरूले अन्तर्राष्ट्रिय समुद्री कानुन उल्लङ्घन भएको दाबी गर्दै अमेरिकाको कदमलाई ‘एकपक्षीय र अवैध’ भनेका छन्।

विश्लेषकहरूका अनुसार यो घटना अमेरिकी प्रतिबन्ध नीति कडाइका साथ कार्यान्वयन भइरहेको संकेत हो। यसले भेनेजुएला–रुस तेल कारोबार मात्र होइन, विश्व ऊर्जा बजार र भूराजनीतिक समीकरणमा समेत असर पार्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित: २३ पुस २०८२ २१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App