२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

सलिमको स्वास्थ्यमा सुधार हुँदै, दोस्रो पटक भेटेपछि आमिरले के भने ?

सलमान खानका बुबा तथा अनुभवी पटकथा लेखक सलिम खानको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ। 

दोस्रो पटक भेट्न पुगेका अभिनेता आमिर खानले उनको स्वास्थ्यमा सुधार भइरहेको भन्दै चाँडै घर फर्कन सक्ने बताएका हुन्।

बुधबार मुम्बई प्रेस क्लबमा आयोजित एक कार्यक्रममा सहभागी भएका आमिरले भने, ‘म सलिम साहबलाई भेट्न गएको थिएँ। हामी सबैले उहाँलाई चाँडोभन्दा चाँडो निको होस् भनेर प्रार्थना गरिरहेका छौँ।’ 

उनले अगाडि भने, ‘उहाँ आइसियुमा भएकोले मैले उहाँलाई व्यक्तिगत रूपमा भेट्न सकिनँ। म उहाँको परिवारसँग बसिरहेको थिएँ। अलविरा जीले मलाई हरेक दिन भन्नुहुन्छ कि उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ। हामी सबै उहाँ फेरि घर फर्कन प्रार्थना गरिरहेका छौँ।’

बुधबार आमिर सलिमको स्वास्थ्य अवस्थाबारे जानकारी लिन दोस्रो पटक लीलावती अस्पताल पुगेका थिए। यसअघि आमिर फेब्रुअरी १९ मा आफ्नी प्रेमिका गौरी स्प्रेटसँग अस्पताल पुगेका थिए। सलिमका छोरा सलमान खान नियमित रूपमा अस्पताल आउने गरेका छन्। बुधबार पनि उनलाई अस्पताल बाहिर देखिएको थियो।

यसअघि सलिम खानको स्वास्थ्यबारे अभिनेत्री डेजी शाहले पनि सुधार भइरहेको बताएकी थिइन्। सलमान खानको ‘जय हो’ मा सह-कलाकार समेत रहेकी डेजीले फिल्मी ज्ञानलाई भनिन्, ‘मैले सलिम सरलाई भेट्न सकेको छैन। तर म सलमान सर र उहाँको परिवारसँग सम्पर्कमा छु। सलिम सर अहिले राम्रो अवस्थामा हुनुहुन्छ। उहाँको अवस्था स्थिर छ। शल्यक्रिया सफल भयो।’

गत फेब्रुअरी १८ मा लीलावती अस्पतालका डाक्टरहरूले सलिम खानको स्वास्थ्यबारे जानकारी प्रदान गरेका थिए। यद्यपि परिवारले पछि चिकित्सा अपडेट सार्वजनिक नगर्न निर्देशन दियो। त्यस बेलादेखि उनको स्वास्थ्यको बारेमा कुनै आधिकारिक जानकारी जारी गरिएको छैन।

मस्तिष्क सम्बन्धी समस्या भएपछि सलिम खानलाई फेब्रुअरी १७ को बिहान लीलावती अस्पतालमा भर्ना गरिएको थियो। उनलाई बिहान आकस्मिक कक्षमा ल्याइएको थियो। 

उमेरको कुरा गर्दा सलिम खान ९० वर्षका छन्। उनको जन्म नोभेम्बर २४, १९३५ मा भएको थियो। उनलाई हिन्दी सिनेमाका सबैभन्दा प्रख्यात पटकथा लेखकहरू मध्ये एक मानिन्छ।

प्रकाशित: १४ फाल्गुन २०८२ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App