प्रतिनिधि सभाका सदस्य एवम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) को अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ ।
आइतबार बसेको राष्ट्रियसभा बैठकमा सदस्यहरूले सांसद शाहीले सामाजिक सञ्जालमा राष्ट्रियसभा वृद्धाश्रम हो भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि सभाले खेद प्रस्ताव पारित गरेको हो ।
'अध्ययन नै नगरी निज मान्य सदस्यले कपोकल्पित झुट र यथार्थभन्दा बाहिर गइ एक सभाको सदस्यले अर्को सभाको काम कारबाही र सभाका मान्य सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमासमेत अत्यन्तै गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ,' अध्यक्ष दाहालले भने,'आइन्दा आफ्ना विचार संप्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन मान्य सदस्यलाई यो सभा निर्देशन समेत दिन्छ।’
राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक स्वीकृत भएपछि शाहीले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै राष्ट्रिय सभा नै वृद्धाश्रमजस्तो भएको बताएका थिए।
प्रकाशित: ४ फाल्गुन २०८१ १८:१८ आइतबार