नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा तथ्य र सत्यका पक्षमा किन कोही लेख्दैनन् भनी प्रश्न गर्नुभन्दा आफैले लेख्न सुरु गर्नुपर्ने बताएका छन्।
बुधबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्न भनेका हुन्।
'तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्नुहोस् । तपाई आफै अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्दछ', उनले भनेका छन्, 'त्यसले अरुलाई पनि अघि सर्न प्रेरित गर्दछ । असल मानिसहरू सक्रिय भए अराजकता, अशिष्टता र साइवर अपराध क्रमशः कम भएर जान्छ ।'
पोखरेलले सामाजिक सञ्जालमा असल मानिसहरू नआउँदासम्म आएका खराब मान्छेहरु देखिरहने पनि बताएका छन्। उनले लेखेका छन्,'इन्टरनेट सञ्जाललाई सूचना महामार्ग मानिन्छ । सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै हो । सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ । घर भित्र बसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक सञ्जालमा असल मानिसहरू नआउँदासम्म आएका खराब मान्छेहरु देखिने हो ।'
प्रकाशित: ३० माघ २०८१ ११:४४ बुधबार