नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणविरुद्ध अनेक प्रकारका भ्रम र अफवाह फैलाइरहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले सत्ता समीकरणविरुद्ध जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभिष्ट पूरा नहुने बताए। उनले ७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएकाहरू सहकार्यका विरुद्धमा लागेको आरोप समेत लगाएका छन्।
उनले कांग्रेस-एमालेको सहकार्य रहर नभएर राजनीतिक परिस्थितिको उपज भएको समेत उल्लेख गरेका छन्।
पोखरेलले लेखेका छन्, ‘७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन्, उनीहरूले सत्ता समीकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभीष्ट पूरा हुने छैन, हुन दिइने छैन किनकि सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो।’
प्रकाशित: २९ माघ २०८१ ०९:३५ मंगलबार