नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थित योजनाका साथ जाने हो भने समाजवाद निर्माण हाम्रै पालामा सम्भव रहेको बताएका छन्।
महोत्तरीको बर्दिबासस्थित आधारशिला जनकम्युनको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित वैचारिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
समाजवाद आकाशबाट खस्ने वा धर्तीबाट जन्मने नभई जनताले निर्माण गर्ने भएकाले यसका लागि सुव्यवस्थित अभियान र आन्दोलन भने आवश्यक रहेको उनले बताए।
हरेक समुदायमा आफ्नै राजनीति, आफ्नै अर्थतन्त्र र आफ्नै संस्कृति भएको बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपालमा समुदाय केन्द्रित समाजवाद नै उपयुक्त हुने धारणा राख्दै अध्यक्ष दाहालले त्यसका लागि समुदाय स्तरबाटै समाजवाद निर्माणको अभियान थाल्नुपर्ने बताए।
आफ्नो पार्टीले लामो बहसपछि भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकबाट समाजवाद निर्माणका लागि स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणका काम थाल्ने निर्णय गरेको जानकारी गराउँदै उनले पहिले पार्टीले जितेका १२३ पालिकाबाट अभियानकै रुपमा काम थालिने र त्यसपछि ७५३ पालिकामा नै अभियान विस्तार गरिने बताए।
जनयुद्धको उत्कर्षमा देशभर जनसत्ता र जनकम्युन सञ्चालन गरेको स्मरण गराउँदै उनले विगतका अभ्यासको अनुभवबाट सिकेर त्यसलाई परिस्कृत गर्दै अब सामाजिक सहकार्यका अभियान निर्माणमा पार्टीले योजना र कार्यक्रम बनाउने बताए।
अध्यक्ष दाहालले पार्टी अब मधेसमा केन्द्रित हुने गरी कार्यक्रम बनाएको पनि जानकारी दिए। उनले फागुन १२ गतेदेखि हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान सुरु गर्ने जानकारी दिँदै यसले पार्टी र जनताबिचको सम्बन्धलाई नयाँ उचाइमा उठाउने विश्वास व्यक्त गरे।
मधेसी जनताको मुक्तिका लागि लड्ने नेतृत्वदायी पार्टी माओवादी रहेको, पछिल्लो १८ महिने सरकारमा नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदानका लागि कानुन बनाउने र सामन्तवादको अवशेषको रुपमा बाँकी रहेको मिटरब्याजपीडितको समस्या समाधानका ऐतिहासिक थालनी गरिएको उनले बताए।
आम उत्पीडित जनताको मुक्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने आफ्नो पार्टी भए पनि केही वर्ष यता पुराना शक्तिहरूसँगको सहकार्यले आफ्नो वर्ग र समुदायबाट टाढा हुँदै गएकाले अब पछिल्लो केन्द्रीय समिति बैठकपछि पार्टी पुनः आफ्नै वर्ग र समुदायमा फर्कने अभियानमा अघि बढेको बताए।
जनकम्युनको अभ्यास गर्न २०५९ माघ २५ गते सामाजिक रूपान्तरणका लागि सामूहिक अभ्यास भन्ने मूल नाराका साथ आधारशिला स्थापना भएको थियो। यो कम्युनमा हाल १६ परिवारको सामूहिक बसोबास र सहकार्य रहेको छ।
प्रकाशित: २८ माघ २०८१ १६:३६ सोमबार