४ वैशाख २०८२ बिहीबार
image/svg+xml ७:३४ पूर्वाह्न
खेल

शेर्पा बने 'साइक्लिङ रेसर'

विजेता शेर्पालाई पुरस्कार दिइँदै। तस्बिर: महेश्वर

उदयपुरका साइकल धावक निमा शेर्पा साइक्लोथन उपाधि हात पार्न सफल भएका छन्। विराटनगरमा सम्पन्न 'साइक्लोधन सिक्स प्वाईन्ट प्रतियोगिता ०८१' को छैठौं संस्करणमा शेर्पा प्रथम हुन सफल भएका हुन्।

१८ वर्षीय शेर्पा त्रियुगा नागरपालिका १० बोक्सेका हुन्। सानैलेखि साइक्लिङमा रुचि राख्दै आएका शेर्पा यसअघिका विभिन्न साइक्लिङ रेसमा सहभागी हुँदै विजयी भइसकेका छन्। यस वर्ष रोटरी क्लब अफ विराटनगर फ्युजनले आयोजना गरेको प्रतियोगितामा उदयपुरबाट प्रतिनिधित्व गर्दै ३ सय जनाभन्दा बढी प्रतिस्पर्धीलाई उछिनेर उपाधि हासिल गर्न सफल भएका हुन्। शेर्पाले १४ किलोमिटर दूरी २५ मिनेटमै पार गरी प्रभावशाली प्रदर्शन गरेका थिए।

प्रतियोगितामा धरान ११ का १७ वर्षीय दिपसागर तामाङ दोस्रो भए भने उदयपुर त्रियुगा १० कै १४ वर्षीय कुशान शेर्पा तेस्रो भएका छन्। कुशन पनि बाल्यकालदेखि नै साइकल धावनमा चासो राख्दै आएका छन्।

आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट सुरु भएको साइक्लिङ सहिद रङ्गशाला सामुन्नेको सडकबाट गोल्छा चोक, तीनपैनी, पुष्पलाल चोक हुँदै विराटनगर १९ को मिलनचोक पुगेपछि आयोजकले दिएको ह्याण्ड ब्याण्ड लिएर सुरुकै ठाउँ फर्कनुपर्ने रुट कायम गरिएको थियो।

प्ररतिस्पर्धीहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलिया, मिस्टर नेपाल सन्तोष लक्सुम लिम्बू र मिस नेपाल आश्मा केसीले झण्डा देखाएर शुभारम्भ गराएका थिए। प्रतियोगिता सुरु गर्नुअघि द गोल्ड जिमका प्रतिनिधिहरूले सहभागीहरूलाई वार्मअप गराएका थिए।

विजेता शेर्पाले १५ हजार नगद र प्रमाणपत्र पाए भने उपविजेता र तेस्रो हुने प्रतियोगीलाई क्रमश: १० हजार र ५ हजार पुरस्कार  दिइयो। उनीहरूबाहेक लक्की ड्रमार्फत छानिएका २५ जना सहभागीलाई पनि जनही ५ हजार नगद पुरस्कार दिइएको थियो।    

स्वास्थ्य तन्दुरुस्ती र प्रदूषणमुक्त वातावरणका लागि साइक्लिङको महत्व दर्शाउन प्रतियोगिता आयोजना गरेको रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष विवेककुमार अग्रवालले बताए। उनले यसबाट स्वास्थ्य प्रवर्द्धन, सामुदायिक भावनाको विकास र संस्थाको कोष वृद्धिमा पनि सहयोग पुगेको बताए।

प्रकाशित: २५ चैत्र २०८१ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App