राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले सामाजिक सञ्जाल विधेयकमा पार्टीले ढोङ्गी चरित्र देखाएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत संसद्मा दर्ता गरिएको सामाजिक सञ्जाल विधेयकले हिजो रास्वपाले उठाएका माग सम्बोधन गरेको भन्दै विरोधको अर्थ नभएको उल्लेख गरेका हुन्।
उनले लेखेका छन्, ‘प्रचण्ड सरकारले टिकटक बन्द गर्दा हामीले टिकटक बन्दको विरोध गर्दै भनेका थियौँ– सामाजिक सञ्जालहरू विधिवत रूपमा दर्ता गर्ने, सञ्जालको दुरुपयोग गर्नेविरुद्ध कडाभन्दा कडा कानुनी कारवाहि गरेर यसको सदुपयोग अभिप्रेरित गर्ने।’
अहिले संसद्मा दर्ता भएको विधेयकले हिजो रास्वपाले उठाएको मागको नै सम्बोधन गरेको उल्लेख गर्दै अहिले आफ्नै मूल्य मान्यतालाई कुल्चिएर विज्ञप्ति जारी गरेको आरोप उनले रास्वपामाथि लगाएका छन्।
उनले अगाडि भनेका छन्, ‘पार्टीमा लोकतान्त्रिक रूपमा फरक मत राखेकै आधारमा, हिजो मैले बोलेका कुरा र न्यायाधीशले हालसालै दिएको आदेश हुबहु मिल्दा पनि मलाई जे गरियो, इतिहास साँची छ र आज तिनीहरू नै बोल्न पाउनुपर्छ भन्दै छन्। यसैलाई ढोङ्गी चरित्र भनिन्छ। आफैँ सरकारमा हुँदा टिकटक बन्द गर्नेहरू पनि विरोध गरिरहेका छन्। ढोङ्गी राजनीतिबाट बच्नुहोस्।’
टिकटक बन्द गर्दा रास्वपाले जारी गरेको विज्ञप्तिसहित मुकुलले राखेको स्टाटस हेर्नुहोस्
संसद्मा दर्ता गरिएको सामाजिक सञ्जाल विधेयकले हिजो रास्वपाले उठाएका मागको नै सम्बोधन गरेको छ । प्रचण्ड सरकारले टिकटक बन्द गर्दा हामीले टिकटक बन्दको विरोध गर्दै भनेका थियौँ - सामाजिक सञ्जालहरू विधिवत रूपमा दर्ता गर्ने, सञ्जालको दुरुपयोग गर्नेविरुद्ध कडाभन्दा कडा कानुनी कारवाही गरेर यसको सदुपयोग अभिप्रेरित गर्ने । अहिलेको संसद्मा दर्ता भएको विधेयकले हामीले हिजो उठाएको मागको नै सम्बोधन गरेको छ तर विरोध गर्नु नै धर्म मानिरहेका साथीहरूले हिजोको आफ्नै मूल्य मान्यतालाई कुल्चिएर विज्ञप्ति जारी गरेका छन् ।
सामाजिक सञ्जाल विधेयकका बारेमा समाजमा भ्रम फैलाइयो ।
👉🏽 व्यक्तिको व्यक्तिगत फेसबुक, टिकटक दर्ता गर्नुपर्छ भनेर भ्रम फैलाइयो । यो भ्रम हो , यिनीहरूका कम्पनी नेपालमा दर्ता हुनुपर्छ भनेको हो । उनीहरूले दर्ता नगरे फेसबुक, टिकटक लगायत नेपालमा चल्दैन कि भनेर पनि डराउन पर्दैन, यस्ता कम्पनीहरूले नेपाल सरकारलाई अघिल्लो वर्ष मात्र ४१ करोड बराबर कर तिरेका छन् । त्यसैले दर्ता हुँदैन कि भनेर डर मान्न परेन ।
👉🏽 बोल्न रोक लगाइयो भनेर भ्रम फैलाइएको छ । बोल्न रोक लगाइएको होइन, फेक एकाउन्ट बनाउन रोक लगाइएको हो । फेक एकाउन्ट बनाएर दुनियाँलाई ह्यारेस गरेर आत्महत्यासम्म पुर्याउने प्रवृत्ति बढ्दो छ । यसलाई रोक्नु राम्रो हो । फेक अकाउन्ट बनाएर अरूलाई ह्यारेस गर्नेहरू फेक अकाउन्ट बनाउनुपर्छ भन्दै छन् । नत्र सही कुरा , राम्रा कुरा गर्न फेक अकाउन्ट किन बनाउनु पर्यो ?
👉🏽 विधेयकले सामाजिक सञ्जालमा मुख छाड्न, तथानाम बोल्न नियन्त्रण गरेको छ । आफ्नो व्यक्तिगत दुनियाँमा एक अर्का साथीसँग जे गरे पनि मतलव हुने कुरा भएन, तर सारा संसारले देख्ने गरि अर्कोलाई मुख छाड्दै हिँड्ने प्रवृत्ति नियन्त्रण हुनै पर्छ । थुप्रै कलाकारदेखि सामाजिक व्यक्तित्वहरू र आम जनतासम्म यसको सिकारमा परेका छन् । साइबर सेना बनाइ मान्छेको चरित्र हत्या गर्न लागिपरेका छन् । र त्यस्तो प्रवृत्तिले दण्ड पाउनै पर्छ ।
👉🏽 सामाजिक सञ्जालको सदुपयोग बढाउन र दुरुपयोग घटाउन यसले मद्दत गर्छ । कानुन नै किन चाहियो भन्दा , हलुका कानुनका आधारमा अपराधीहरू उम्कन थाले , सामाजिक सञ्जालको प्रदुषण नियन्त्रण बाहिर गयो । मानिसहरू आत्महत्या सम्म गर्न बाध्य पारिए, सामाजिक सञ्जालबाटै अरूलाई धम्की दिने प्रचलन शुरु भयो, जनताका घरबारसम्म बिग्रिए । त्यसैले राज्यले अभिभावकको भूमिका निर्वाह गर्दै यसलाई नियममा ल्याउनु राम्रो कुरा हो ।
मनपरितन्त्र गर्न पाइन्न , साइबर सेना राखेर सामाजिक सञ्जाल आफ्नो नियन्त्रण गर्न पाइन्न , मेरो यति लाख फलोअर छन् लेख्दिम भनेर ब्लाकमेल गर्न पाइन्न भन्ने डरले विरोध गरिरहेका छन् । सचेत बन्नुहोस् , सामाजिक सञ्जालको दुरूपयोगलाई रोक्न ल्याइएको कानुनको समालोचना गर्नु होस् तर यो हौवाको पछाडी नलाग्नु होला । संसदीय प्रक्रियाबाट विधेयकमा सुधार गर्ने ठाउँ त छँदै छ तर जसरी विधेयकको विरुद्ध नै साइबर सेना खटाउन थालिएको छ, आम नागरिकलाई सचेत बन्नलाई आग्रह गर्दछु ।
पार्टीमा लोकतान्त्रिक रूपमा फरक मत राखेकै आधारमा, हिजो मैले बोलेका कुरा र न्यायाधीशले हालसालै दिएको आदेश हुबहु मिल्दा पनि मलाई जे गरियो, इतिहास साँची छ र आज तिनीहरू नै बोल्न पाउनुपर्छ भन्दै छन् । यसैलाई ढोङ्गी चरित्र भनिन्छ । आफैँ सरकारमा हुँदा टिकटक बन्द गर्नेहरू पनि विरोध गरिरहेका छन् । ढोङ्गी राजनीतिबाट बच्नुहोस् ।

प्रकाशित: १८ माघ २०८१ ११:३२ शुक्रबार