२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

एपीएफ नारदमुनि गोल्डकपको सेमिफाइनलमा

गत माघ १५ गतेदेखि उदयपुरमा जारी ‘११औँ नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ का क्वाटरफाइनल खेल आइतबार सम्पन्न भएका छन्।

उद्घाटनको अन्तिम तथा चौथो दिनको क्वाटरफाइनल खेलमा जित निकाल्दै एपीएफ काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ। एपीएफले एलएक्स सिटी फुटबल क्लब बेलबारी, मोरङलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।

खेल सुरु भएको ४३औँ मिनेटमा एपीएफका खेलाडी श्याम नेपालीले निर्णायक गोल गर्दै टिमलाई अग्रता दिलाए। खेल अवधिभर विपक्षी एलएक्स सिटी गोल गर्न असफल भएपछि सोही गोल निर्णायक बन्यो र एपीएफ सेमिफाइनलमा प्रवेश गर्‍यो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। मध्यान्तरपछि एपीएफले एक गोल गर्न सफल भयो। खेलको ‘म्यान अफ द म्याच’ एपीएफकै जर्सी नम्बर १५ का विवेक थापामगर घोषित भए। उनलाई नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

सोमबार हुने पहिलो सेमिफाइनल खेलमा योङ ब्रदर्स क्लब इटहरी र न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरीबीच प्रतिस्पर्धा हुनेछ। अन्तिम सेमिफाइनल खेलमा एपीएफले सहलेश युवा क्लब सिरहासँग खेल्नेछ।

आयोजक बसाहा क्लबका अध्यक्ष दिनेश राईका अनुसार प्रतियोगिताका सेमिफाइनल खेल मङ्गलबारसम्म सञ्चालन हुनेछन् भने फाइनल खेल आउँदो माघ २२ गते हुनेछ।

जिल्लाकै पहिलो र ठूलो धनराशिको गोल्डकप प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ३ लाख रुपैयाँ नगद र ट्रफी पाउनेछ। यसका साथै विधागततर्फ आधा दर्जनभन्दा बढी पुरस्कार वितरण गरिने अध्यक्ष राईले बताए।

बसाहा क्लबले वर्षेनी यो गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको छ। चौदण्डीगढी नगरपालिका–४ बसाहा बर्खेडाँडास्थित नारद आदर्श रङ्गशालामा सञ्चालन भइरहेको यो प्रतियोगिता २००७ सालको राणा विरोधी क्रान्तिनायक स्वर्गीय नारदमुनि थुलुङ राईको स्मृतिमा आयोजना गरिँदै आएको क्लबका पूर्व अध्यक्ष शेखर चामलिङले जानकारी दिए।

प्रकाशित: १८ माघ २०८२ २२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App