२९ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

बाँके-२ : ‘नन-पोलिटिकल’ मत निर्णायक

बाँके-२ को निर्वाचन सधैं अनिश्चित र रोचक मानिन्छ। यहाँ संगठन, घोषणापत्र वा सार्वजनिक भाषणभन्दा बाहिर रहेको एउटा मौन मत समूहले चुनावी नतिजा उल्ट्याउने गरेको इतिहास छ।

यो समूहलाई राजनीतिक भाषामा ‘नन–पोलिटिकल’ वा अस्थिर मतदाता भनिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनमा यही मत बाँके–२ मा निर्णायक शक्ति बन्दै आएको छ।

राजनीतिक विश्लेषक जनार्दन आचार्यका अनुसार बाँके–२ मा करिब १५ देखि १८ प्रतिशत मतदाता ‘नन–पोलिटिकल’ प्रकृतिका छन्।

उनका अनुसार दलहरूप्रति बढ्दो वितृष्णा, नेताहरूको आपसी सम्बन्ध र चिनजानमै राजनीति सीमित हुँदा नागरिकमा निराशा पैदा भएको छ।

केही दल संगठन विस्तारभन्दा पनि पहुँच र सम्बन्धमा अल्झिँदा मतदाताले सबै दल उस्तै हुन् भन्ने ठानेका छन्। यसैकारण उनीहरू कुनै एक दलप्रति स्थायीरूपमा प्रतिबद्ध हुँदैनन्। आचार्यका अनुसार यो मत धार्मिक आधारमा पनि फैलिन सक्ने सम्भावना हुन्छ र जसले प्रभाव पार्न सक्छ उसैको पक्षमा नतिजा आउन सक्छ।

बाँके–२ को निर्वाचन इतिहासले पनि नन–पोलिटिकल मतको प्रभाव स्पष्ट देखाउँछ। २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सुशील कोइराला यो क्षेत्रबाट विजयी भएका थिए।

त्यसबेला कांग्रेसको संगठन र प्रजातान्त्रिक आन्दोलनको विरासत प्रभावशाली थियो। तर २०५१ सालको मध्यावधि निर्वाचनमा राजनीतिक माहोल एकाएक फेरियो।

अस्थिर मत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फ मोडियो र शान्तिशमशेर जंगबहादुर राणा विजयी बने। २०५६ सालको निर्वाचनमा अस्थिर मत पुनः कांग्रेसमै फर्कियो र कोइरालाले फेरि जित हासिल गरे। यसले पनि बाँके–२ को मौन मत कुनै एक विचारधारामा अडिग नहुने र समयअनुसार बग्ने पुष्टि हुन्छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा पनि यही अस्थिर अर्थात् नन–पोलिटिकल मत निर्णायक बन्यो। सांगठनिक रूपमा कमजोर मानिएको राप्रपाका उम्मेदवार डा. धवलशमशेर राणाले जित निकाले, जुन धेरैका लागि अप्रत्याशित थियो।

विश्लेषकहरूका अनुसार धवलको जित नन–पोलिटिकल समूहको समर्थनबिना सम्भव थिएन। यस आधारमा बाँके–२ मा दलीय संगठनमा आबद्धभन्दा बाहिरको मतले नै निर्णायक हुने गरेको देखाउँछ।

राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर बाँके–२ लाई लहरबाट चल्ने सहरका रूपमा व्याख्या गर्छन्। उनका अनुसार यहाँका मतदाता एकै धारमा लामो समय टिक्दैन।

एक समय एक पक्षमा लहर चल्छ भने अर्को समय अर्कैतर्फ मोडिन्छ। सबै दल उस्तै हुन् भन्ने बुझाइ हाबी हुँदा यनन–पोलिटिकल मत कहिले यता त कहिले उता बग्छ।

यो सहरी–ग्रामीण मिश्रित निर्वाचन क्षेत्र भएकाले विकास, पहिचान, असन्तुष्टि र तत्कालीन राजनीतिक सन्देशले यहाँको मतलाई छिटो प्रभावित गर्छ।

वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक हेमन्त कर्माचार्यका अनुसार नन–पोलिटिकल मतको सबैभन्दा ठुलो विशेषता यसको मौनता हो। उनका अनुसार यो मत अरु बेला खुल्दैन, मतदान हुनुभन्दा करिब ४८ घण्टाअगाडि मात्र सतहमा आउँछ।

यही कारण अधिकांश निर्वाचनमा पूर्वानुमान गलत हुने गरेको छ। २०४८ सालदेखि २०७९ सम्मका निर्वाचनमा यही मतले नतिजा फेरबदल गरिदिएको कर्माचार्यको विश्लेषण छ।

कर्माचार्यका अनुसार यस मतमा पैसाको जोखिम पनि उच्च हुन्छ। मध्यम वर्ग आफ्नो मुद्दा, असन्तुष्टि र अपेक्षामा केन्द्रित हुन्छ भने निम्न वर्ग तत्कालीन आर्थिक लाभतर्फ आकर्षित हुने सम्भावना बढी हुन्छ।

यससँगै धार्मिक, सांस्कृतिक र क्षेत्रीय पक्ष पनि जोडिएका हुन्छन्। कतिपय समुदायमा एक प्रभावशाली व्यक्ति वा ‘मुखिया’ले यो मतलाई नियन्त्रण गरेको देखिन्छ। उसले लिएको निर्णयसँगै सयौं मतदाता एकैचोटि मोडिन्छन्।

यही कारण उम्मेदवारहरू पनि नन–पोलिटिकल मतप्रति अत्यन्त सतर्क हुन्छन्। कर्माचार्यका अनुसार नन–पोलिटिकल मतमा उम्मेदवारसमेत ‘साइलेन्ट’ बस्छन्।

किनकि अर्को उम्मेदवारको नजर नपरोस् भन्ने डर हुन्छ। खुलेर दाबी गर्न नसकिने तर अन्तिम क्षणमा निर्णायक बन्ने यही मत बाँके–२ को चुनावी राजनीतिलाई जटिल बनाउने कारक हो।

हालको राजनीतिक अवस्थालाई हेर्दा बाँके–२ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबिच नै देखिन्छ। विश्लेषक आचार्यका अनुसार कांग्रेसको संगठन, ऐतिहासिक विरासत र स्थानीय तहसम्मको पहुँच अझै बलियो छ।

एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राईको व्यक्तिगत प्रभाव, सामाजिक सम्बन्ध र स्थानीय स्तरमा स्थापित छविले मतदातालाई उनीतर्फ आकर्षित गर्न सक्ने देखिन्छ।

तर दुवै दलका लागि साझा चुनौती भनेकै नन–पोलिटिकल मत हो। संगठित मतले आधार तयार गर्छ तर जितको चाबी अस्थिर मतदाताकै हातमा हुन्छ। विगतका निर्वाचनले देखाएझैं जसले अन्तिम घडीमा यो मौन मतको विश्वास जित्न सक्छ, नतिजा उसकै पक्षमा जान सक्छ।

प्रकाशित: १८ माघ २०८२ २१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App