नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विश्व शक्ति राष्ट्रहरूको प्रतिस्पर्धामा नेपालजस्तो सानो मुलुक पिल्सिन सक्ने खतरा औंल्याएका छन्।
बागलुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भूराजनीतिक द्वन्द्वप्रति संकेत गर्दै साँढेको जुधाइमा बाच्छाको मिचाइ हुन नदिन नेतृत्व सचेत रहनुपर्ने बताए।
सम्बोधनका क्रममा संयोजक दाहालले विश्व राजनीति नयाँ र संवेदनशील चरणमा प्रवेश गरेको उल्लेख गरे। नेपालको प्राकृतिक स्रोतसाधनभन्दा पनि यसको विशिष्ट भूगोललाई प्रयोग गरेर विदेशी शक्तिहरूले अन्यत्रको द्वन्द्व अघि बढाउन सक्ने जोखिम बढेको उनको विश्लेषण थियो।
‘नेपालको खनिज वा स्रोतसाधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्व अघि बढाउन प्रयोग हुन सक्छ। युक्रेन युद्ध र भेनेजुएलाका घटनाक्रम हाम्रा लागि पाठ हुन सक्छन्,’ दाहाले भने, ‘शक्ति राष्ट्रहरूको टकरावमा हामी फस्नु हुँदैन, साँढेको जुधाइँमा बाच्छाको मिचाइँ नहोस् भन्ने चिन्ता र सजगता हामीमा छ।’
संयोजक दाहालले राजनीतिक दल र जनताले २०८४ सालमा मात्रै निर्वाचन चाहेको भए पनि विशेष परिस्थितिका कारण अहिले नै चुनावमा जानुपर्ने बाध्यता आइलागेको सुनाए।
उनले वर्तमान निर्वाचनलाई सामान्य हारजितको प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने असाधारण अवसरका रूपमा व्याख्या गरे।
भदौ २३ र २४ गतेका घटनाक्रमलाई स्मरण गर्दै उनले भने, ‘त्यसबेलाको उद्देश्य केवल जलाउने र लुट्ने मात्र थिएन। राष्ट्रपतिलाई हटाएर कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै द्वन्द्वग्रस्त बनाउने गुरुयोजना थियो।’
उक्त संकटपूर्ण घडीमा आफू र सहसंयोजक माधव नेपालले सुझबुझपूर्ण पहलकदमी लिएर देशलाई दुर्घटनाबाट जोगाएको उनको दाबी छ।
भदौका ती घटनाक्रमले संविधानलाई केही हदसम्म घाइते बनाएको उल्लेख गर्दै दाहालले अब यसको उपचार र रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको बताए।
‘यो निर्वाचन विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहनेहरू बीचको लडाइँ हो,’ उनले उद्घोष गरे।
प्रकाशित: २९ माघ २०८२ १४:३६ बिहीबार





