राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अबको पाँच वर्ष प्रधानमन्त्री पद पाए पनि सरकारमा नजाने घोषणा गरेका छन्। शनिवार पार्टी बैठकलाई सम्बोधन गर्दै लिङदेनले पार्टीभित्र आफ्नो चर्को आलोचना भएपछि प्रधानमन्त्री पाए पनि सरकारमा नजाने घोषणा गरेका हुन् ।
‘घरीघरी सरकारको कुरा आउँछ। दुइटा डुङ्गामा खुट्टा भयो, राल चुहाउँछ,’ अध्यक्ष लिङदेनले भने,‘एउटा राजनीतिक पार्टी, त्यो पार्टीको अध्यक्ष अन्य पार्टीसँग भेटघाट पनि गर्छ, सहकार्य पनि गर्छ, कुरा पनि गर्छ । तर, मैले पहिल्यै भनिसकेको छु कि यो पाँच वर्ष राजेन्द्र लिङदेन सरकारमा जान्न । मैले त्यो भन्दा अरू के भन्नुपर्ने हो ?’
आफूले यो कुरा सार्वजनिक रूपमा पहिले नै भनिसकेकोले त्यहीँ विषय उठाइराख्नुपर्ने जरुरी नभएको पार्टी नेताहरूसँग आक्रोश पोखे । उनले भने, ‘साथीहरूलाई सबैलाई त्यो भ्रमबाट मुक्त हुन अनुरोध गर्दछु । तर, भोलि पार्टीले निर्णय गर्यो ।सरकारमा जाने कुरालाई उपयुक्त ठान्यो भने कोही साथी जान सक्छ । तर मैले पार्टीले निर्णय गरे जान्छु भन्ने ठाउँ राखेको छैन फेरी ।’
जान्न भनेपछि प्रधानमन्त्री दिए पनि नजाने उनले बताए । ‘म चाहिँ जान्न, जान्न मात्र भनेको छैन, प्रधानमन्त्री दिए पनि जान्न भनेको छु। पहिलो कुरा त सम्भावना नै छैन १४ सिटलाई । सम्भावना भए पनि पाँच वर्षसम्म जान्न,’ लिङदेनले भने।
प्रकाशित: १३ माघ २०८१ १९:४० आइतबार