नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत संविधान संशोधनका विषयमा सरकारले गम्भीर गृहकार्य थालेको बताएका छन्।
शनिबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी, सांसद र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उनले यसबारे जानकारी दिएका हुन्।
उनले संशोधनका लागि छुट्टै संयन्त्र बनाइने र त्यसलाई प्रभावकारी बनाउन गृहकार्य भइरहेको बताए।
‘संविधान संशोधनका विषयमा सरकारले पार्टीगत र सरकारगत संयन्त्रमार्फत गम्भीर रूपमा काम अघि बढाउने तयारी गरेको छ। संसदमा लामो समयदेखि विचाराधीन विधेयकहरूलाई कार्यान्वयन गर्न अध्यादेशमार्फत प्रक्रिया छिटो बनाइएको हो। यसलाई सबैले सकारात्मक रूपमा लिएका छन्,’ महतले भने।
प्रवक्ता महतका अनुसार, आर्थिक गतिविधि चलायमान गर्न र विधेयक पारित गर्ने प्रक्रियालाई तीव्र बनाउन सरकार सक्रिय रहेको छ। अध्यादेश संसदमा चाँडै प्रस्तुत गरिने र यसले आर्थिक सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
प्रकाशित: १२ माघ २०८१ १७:५९ शनिबार



-600x400.jpg)

