११ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। सरकारको कामलाई लिएर पार्टीभित्रैबाट विरोध भइरहेका बेला कांग्रेसले आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको लोत्से हलमा बैठक बोलाएको हो।

बैठकमा एमाले नेतृत्व सरकारमा सहभागी भएपछिका ६ महिनाको कामको समीक्षा हुनुका साथै संसद्मा दर्ता भएका विधेयकहरूलाई संसद्को आगामी बैठकमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुनेछ।

संघीय संसद्को अधिवेशन बोलाउनुको साटो त्यसलाई छलेर आधा दर्जन अध्यादेश ल्याइएको विषयमा पनि बैठकमा छलफल हुनेछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते चार र माघ २ गते एक अध्यादेश जारी गरेका थिए। त्यसको एक साता पनि नबित्दै मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार माघ १८ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए।

संसदीय शासन व्यवस्थाविपरीत दलीय संयन्त्रका आधारमा सरकार सञ्चालन गर्न कांग्रेस–एमाले लागिपरेको भन्दै कांग्रेसकै नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। त्यसबारे पनि बैठकमा सांसदहरूले प्रश्न उठाउने भएका छन्।

संसद्मा विचाराधीन विधेयकलाई छिटो पारित गर्नेसहित विभिन्न विषयमा काम गर्न भन्दै दुई दलले केही कार्यदल गठन गरेका छन्। त्यसप्रति सांसदहरू असन्तुष्ट छन्। विभागीय मन्त्री नै विभिन्न विधेयकका विषयमा अनभिज्ञ रहेका बेला सत्तारूढ दलका नेताहरूले संसद्मा विधेयक पेस गर्ने मिति घोषणा गरिरहेका छन्। त्यसप्रति पनि मन्त्रीहरू असन्तुष्ट रहेको निकटहरूले जनाएका छन्।

प्रकाशित: १२ माघ २०८१ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App