१३ माघ २०८२ मंगलबार
image/svg+xml
विचार

प्रधानमन्त्री छान्ने चुनाव

बाइरोडको बाटोमा

मुलुकमा पहिलो पटक आममतदाताले भावी प्रधानमन्त्रीको अनुहार हेरेर त्यो दलका उम्मेदवारलाई मत दिने अवस्थामा आइपुगेको छ। आफ्नो क्षेत्रका उम्मेदवार मात्र होइन, त्यो दलले कसलाई प्रधानमन्त्री बनाउँदैछ भन्ने प्रश्नमा यसपटक गम्ने अवसर आएको छ। त्यति मात्र होइन, लोकतन्त्रलाई बनाउने वा बिगार्न सक्ने त्यसको छिनोफानो पनि भावी प्रधानमन्त्रीको चयनले गर्नेछ।

मुलुककै जेठो लोकतान्त्रिक दल नेपाली कांग्रेसले आफ्ना सभापति गगनकुमार थापालाई आसन्न आमनिर्वाचनमा मुलुकको भावी प्रधानमन्त्रीका रूपमा सर्वसम्मतिले प्रस्तुत गरेको छ। यो निर्णयसँगै स्पष्ट रूपमा तीन नेतालाई भावी प्रधानमन्त्रीका रूपमा हेरेर निर्वाचनको आँकलन हुन थालिसकेको छ। भोलिको नेपालको नक्सा यी तीनलाई हेरेर अनुमान गर्न सकिन्छ।

त्यसो त यसअघि पनि बेलाबेलामा दलहरूले भावी प्रधानमन्त्रीको रूपमा आफ्ना नेता उम्मेदवारलाई प्रस्तुत गर्दै आएका हुन्। नेपाली कांग्रेसले सन्तनेता कृष्णप्रसाद भट्टराईलाई २०५६ सालमा उम्मेदवार बनाउँदा प्रधानमन्त्रीकै रूपमा प्रस्तुत गरेको थियो। निर्वाचनपछि भट्टराई प्रधानमन्त्री बनेका थिए। त्यो बेला दुई सय पाँच सदस्यीय प्रतिनिधिसभामा एक सय ११ स्थानमा विजयी भई कांग्रेसले सरकार बनाएको थियो।

आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भावी प्रधानमन्त्रीका रूपमा स्पष्ट रूपमा तीन नेतालाई अघि सारिएको छ। कांग्रेसबाट गगन थापा, नेकपा (एमाले) बाट केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन्द्र साहलाई हेरेर आगामी सरकार कस्तो र कसको बनाउने भन्ने निर्णय गर्ने अवसर यतिबेला सर्वसाधारणलाई आएको छ।

दलहरूले भावी प्रधानमन्त्री तोकेर निर्वाचनमा सामेल भएपछि अहिलेसम्मका धेरै प्रश्नको जवाफ पनि यसले दिएको छ। पहिलो, कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री नबनाई नेपालको स्थायित्व भएन भन्ने जिज्ञासाको जवाफ यसले दिएको छ। दोस्रो, निर्वाचनपछि दलभित्रै किचलो भई अर्कै व्यक्ति प्रधानमन्त्री बन्न तम्सिने प्रवृत्तिको अन्त्य भएको छ। तेस्रो, मैदानमा उत्रिएका तीन व्यक्तिको व्यक्तित्व, कृतित्व र क्षमता हेरेर मतदातालाई निर्णय गर्न सहज भएको छ। यसो भएपछि अहिलेसम्म दलभित्र समस्या उत्पन्न भई काम गर्न नसक्ने अवस्था पनि कम हुने देखिएको छ।

अब जाऔं पहिलो बुँदातिर। मुलुकको विकास नभएको कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति नभएर भन्ने प्रश्न केही समयदेखि उठ्दै आएको छ। राष्ट्रपतिलाई आलंकारिक मात्रै राखिएको हुनाले प्रधानमन्त्री नै अहिले मुलुकका कार्यकारी हुन्। यस हिसाबले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा जनताले निर्वाचित गर्न नसके पनि भावी प्रधानमन्त्रीको मुख हेरेर अहिले मतदाताले निर्णय गर्न सक्ने अवस्था आएको छ। देशैभरिका मतदाताले समानुपातिक निर्वाचनको मतबाट भोलि बन्ने प्रधानमन्त्री सुनिश्चित गर्न सक्छन्। प्रत्यक्षतर्फबाट मात्रै सरकार बनाउन नसक्ने स्थिति आएमा समानुपातिकको मतले यो अवस्था सुनिश्चित गर्छ।

दोस्रो बुँदाअनुसार हेरौं। अहिलेसम्म दलहरूको मुख्य समस्या भनेको आन्तरिक लोकतन्त्रलाई व्यवस्थापन गर्न नसक्नु हो। सरकारहरू प्रायः ढल्नुको मुख्य कारण विपक्षी दलको प्रहारभन्दा पनि दलभित्रकै आन्तरिक समस्या हो। आन्तरिक समस्याको समाधान आन्तरिक व्यवस्थापनबाट खोज्नेभन्दा पनि संविधानतिर ताकझाक गर्दा धेरै समस्या पर्ने गरेको छ।

तत्कालीन प्रधानमन्त्री ओलीको झन्डै दुई तिहाइको सरकार ढल्नुमा बाह्यभन्दा पनि आन्तरिक कारण प्रबल थिए। त्यसैकारण उनले दुई पटक प्रतिनिधिसभा विघटन गर्नतिर लाग्नुपर्‍यो। सर्वोच्च अदालतले त्यो विघटनलाई स्वीकार गरेन र दोस्रो पटक त नयाँ सरकार बनाउने गरी नै आदेश दियो। ओलीले त्यो बेलाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतको व्यवस्थापन गर्न सकेका भए यो समस्या आउने नै थिएन। उनको साढे तीन वर्षको सरकार ढलेन मात्र, दल पनि छिन्नभिन्न भयो। उनले त्यसको दबाब र प्रभाव अहिलेसम्म भोगिरहेका छन्।

अब जाऔं अन्तिम बुँदातर्फ। अब कस्तो सरकार बनाउने? मौका आफ्नै हातमा छ। तीन नेताको रिपोर्ट कार्ड बनाएर अब मतदाताले निर्णय गर्ने बेला आएको छ। को कस्तो हो? को कसको हो? भनेर चिन्ने बेला भएको छ। यी तीन नेतामा कसलाई प्रधानमन्त्री बनायो भने मुलुकले खोजेको परिवर्तन र समृद्धि प्राप्त हुन्छ भनेर बुझ्ने बेला भएको छ। यी तीन प्रधानमन्त्रीका आर्थिक प्रगतिका केकस्ता कार्यक्रम र योजना छन्, थाहा पाउने बेला भएको छ। यसले नै आगामी सरकारको नापनक्सा निर्धारण गर्नेछ। त्यति मात्र होइन, नेपालले समृद्ध, लोकतान्त्रिक मुलुक बनेर जाने कि नजाने भन्ने निर्णयका निम्ति यो निर्वाचन महत्त्वपूर्ण हुनेछ।

मुलुकको शासनसत्ता लामो समयसम्म चलाएका, दलमा पनि कसैले रोक्न नसक्ने र चट्टानी अडान राख्न सक्ने ओली एकजना उम्मेदवार हुन्। एमालेले उनलाई उम्मेदवार बनाएको छ। उनी यसका निम्ति उम्मेदवार हुनुअघि महाधिवेशन गराएर दलभित्र नेतृत्व छाडेर मार्गप्रशस्त गर्नुपर्छ भन्नेहरूलाई पाखा लगाउन सक्षम भएका छन्। उनले आफूसँग चित्त नबुझ्ने कतिपय नेतालाई अहिलेको निर्वाचनमा वञ्चित गराएका छन्। तथापि, राष्ट्रवादी अडान, लोकप्रिय भाषण र मुलुकको विकासका निम्ति उनी चिन्तित भएको देखिन्छ।

अर्का उम्मेदवार छन् गगनकुमार थापा। गत भदौको जेनजी विद्रोहपछिको आवाज सुनेर उनले दलभित्रको लोकतन्त्रलाई ठिक ठाउँमा ल्याएका छन्। दलको नेतृत्व नयाँमा सार्नै नचाहने आफ्नै दलका आदरणीय नेता शेरबहादुर देउवा र उनी निकट सतभैयासँग गरेको यसपटकको विद्रोहले उनलाई साहसिक नेताका रूपमा उभ्याएको छ।

गगन नै यस्ता नेता हुन्, जसलाई कुनै नेताले उचालेर त्यहाँ पुर्‍याएका होइनन् र उनको प्रत्येक राजनीतिक कदम संघर्षले भरिएको छ। शासन सत्तामा एक पटक स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेबाहेक मौका नपाएका तर प्रशस्त जानकारी र योजना भएका नेतामा उनी चिनिन्छन्। उनका अभिव्यक्तिबाट आशा लाग्दो एउटा नेताको उदय भएको मुलुकको राजनीतिमा धेरैलाई अनुमान भइरहेको छ। त्यति मात्र होइन, कांग्रेसलाई विद्रोहपछि पनि एक बनाएर निर्वाचनमा लैजान उनी सक्षम भएका छन्।

अर्का उम्मेदवार बनेका छन्– बालेन्द्र साह। आजको सामाजिक सञ्जालका नायकको छवि बनाएका र ठुलो ‘फ्यान फलोइङ’ भएका उनी मैदानमा उत्रिएपछि एक किसिमको तरंग देखिएको छ। उनी काठमाडौं महानगरपालिकाको मेयरको भूमिकामा देखिएका हुन्। सार्वजनिक जीवनबाट टाढै बस्ने व्यक्तिका रूपमा मतदाताले चिनेका छन्। तैपनि उनीप्रतिको आकर्षण भने अनौठो छ। त्यो आकर्षण देखाउन सामाजिक सञ्जालहरूलाई विशेष रूपमा उपयोग गर्नमा उनी र उनको टिम जानकार रहेको देखिन्छ। ओली उठेकै क्षेत्रमा उम्मेदवारी दिएर उनले भावी चुनावलाई थप रोमाञ्चक बनाउन चाहेको देखिन्छ। तर, दोहोरो संवाद र वादविवादमा उनी कस्ता सुनिन्छन् भन्ने धेरैलाई थाहा छैन।

प्रायः हाम्रो समाज नायकत्वको खोजीमा रहेको देखिन्छ। यस हिसाबले यसपटकको निर्वाचनमा नायकहरूको अभाव हाम्रा मतदातालाई हुने छैन। तीनैजना एकसेएक नेतालाई यसपटक निर्वाचनमा पाएको छ। विगतमा जस्तो नेता नपाएको गुनासो समाजले गर्नु पर्दैन। विगतमा भन्दा धेरै युवाहरू मैदानमा छन्। कहिल्यै अवसर नपाएका योग्यता र क्षमता भएका व्यक्तिको उपस्थिति यसपटक छ।

तथापि, आममतदाताले केही पक्षमा अवश्यै ध्यान दिनुपर्नेछ। पहिलो, लोकतन्त्रप्रतिको विश्वास। मैले प्रधानमन्त्रीका रूपमा छान्न खोजेको व्यक्ति कतिपटक आमसञ्चार माध्यमको अघिल्तिर उभिएर प्रश्नको सामना गर्न तयार छ थाहा पाउनु पर्छ। दोस्रो, संगठन क्षमता। मेरो उम्मेदवारसँग कस्तो सांगठनिक विरासत र बुझाइ छ भन्ने प्रश्न पनि उत्तिकै आवश्यक छ। तानाशाही व्यवस्थामुनिका कैयन् हिउँद खाएर मात्र लोकतान्त्रिक शासन व्यवस्थामा मुलुक पुगेको हो। यसलाई थप लोकतान्त्रिक बनाउने कि लोकरिझ्याइँबाट तानाशाही व्यवस्थामा पुग्ने? यसका निम्ति पनि ध्यान दिने बेला यही हो।

आज संसार सामाजिक सञ्जालको अराजकताबाट ग्रसित छ। त्यसले गर्ने हेराफेरी, झुटफरेब र कुसूचनाबाट बेलैमा चिन्न सकिएन भने लोकतन्त्र धरापमा पर्छ। आजको हाम्रो मतले भोलिको हाम्रो शासन व्यवस्थामा नराम्रो प्रभाव पार्छ। आज कैयन् लोकतान्त्रिक भनिएका मुलुकमा सन्की र एकांकी नेता पुग्दा त्यहाँका नागरिकले भोगेको समस्याबाट हामी टाढिन सक्दैनौं। त्यसबाट सिक्न सकिएन भने आगामी पाँच वर्ष पनि त्यतिकै खेर जानेछन्।  

प्रकाशित: ११ माघ २०८२ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App