आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)बाट प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सबै दलका प्रधानमन्त्री उम्मेदवारहरूसँग सार्वजनिक बहस (पब्लिक डिबेट)गर्न पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन्।
उनले लेखेका छन्, ‘नयाँ/पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबिच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ।’ ओलीले पार्टीका प्रमुख नेताहरूबिच पारदर्शी बहसको मागलाई सकारात्मक ठानेका छन्।
‘यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु,’ उनले भनेका छन्। उनले यस्तो बहस आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह पनि गरेका छन्।
ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन्, जहाँबाट रास्वपाका बालेन्द्र शाह पनि प्रतिस्पर्धामा छन्। पछिल्लो समय ओली, शाह र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार गगन थापाबिच बहस हुनुपर्ने माग सामाजिक सञ्जालमा बढ्दो छ। गगन भने सर्लाही–४ बाट उम्मेदवार छन्।
हेर्नुस् उनको फेसबुक स्टाटस
पब्लिक डिबेटको लागि तयार छौँ
नयाँ / पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबिच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ।
यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबिच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।
फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।
प्रकाशित: ११ माघ २०८२ ०७:४६ आइतबार




-600x400.jpg)
