४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’, र ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ का गद्य रचनाहरू’ लोकार्पण

साहित्यिक पत्रकार संघले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ का गद्य रचनाहरू’ लोकार्पण गरेकाे छ।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभाध्यक्षता र नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा 'जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी' ग्रन्थ र 'नशानशामा' गीतका लेखक नरेन्द्रबहादुर श्रेष्ठ हुन्। 'नशानशामा' गीतमा स्वर/संगीत चर्चित सङ्गीतकार नरहरि प्रेमीको छ।

संघले भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा दुवै कृति र गीतको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ लगायत मन्चासिन व्यक्तित्वहरूले लोकार्पण गरेका हुन्।

कार्यक्रममा वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठले 'पूर्णबहादुर श्रेष्ठ 'व्यथित' का गद्य रचनाहरू' को समीक्षात्मक टिप्पणी गरेका थिए।

अर्का वरिष्ठ समालोचक प्रमोद प्रधानले 'जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी' ग्रन्थको समीक्षा गरेका थिए।

यसैगरी कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित कलाकार दिनेश डिसी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्वबारे प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले आफ्ना बुबा र काकालाई कृतिमार्फत चिनाउन सकेकोमा प्रशंसा गर्दै लोकार्पित दुई कृतिमा एउटा विशुद्ध साहित्यिक भएको र अर्को ऐतिहासिक अभिलेख भएको बताउँदै जुद्धबहादुर श्रेष्ठ भनेपछि उद्योग र उद्योग भनेपछि जुद्धबहादुर श्रेष्ठ भनेर चिनिने कुरा पनि बताए।

यसैगरी वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठले 'पूर्णबहादुर श्रेष्ठ 'व्यथित' का गद्य रचनाहरू कृतिबारे आफ्नो मन्तव्य राख्दै नेपाली साहित्यमा पूर्णबहादुर श्रेष्ठ 'व्यथित' नाम कतै उल्लेख नभएको प्रसङ्गमा नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो बुबाका रचनाहरू सङ्कलन गरी कृतिका रूपमा ल्याइदिएकोमा धन्यवाद दिए।

उनले बुबाको बिंडो थाम्न नरेन्द्रबहादुर श्रेष्ठ सफल रहेको पनि  उल्लेख गरे। नेपाली साहित्यका प्रख्यात व्यक्तित्व पूर्णबहादुर श्रेष्ठको उपनामबाट प्रेरित भएर पनि  केदारमान व्यथितले आफ्नो उपनाम व्यथित राखेको हो कि! जुन अनुसन्धानको विषय हुन सक्छ भनेर पनि बताए।

यसैगरी 'जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी' कृतिबारे वरिष्ठ समालोचक प्रमोद प्रधानले समीक्षात्मक टिप्पणी राखेका थिए। उनले जुद्धबहादुर श्रेष्ठको व्यक्तित्व र क्रियाकलापबारे बोल्दै लेखकका आफ्नै काका रहेका जुद्धबहादुर श्रेष्ठले सङ्कलन गरेका ऐतिहासिक दस्तावेज र अभिलेख जोगाएर कृतिका रूपमा समाज समक्ष राख्न सफल भएको र आफ्नो बुबा पूर्णबहादुर श्रेष्ठ 'व्यथित' को निधन भएको केही महिनामा जन्मिएका नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो पिताका गद्य रचनाहरू सङ्कलन गरी प्रकाशन गरेर कृति मार्फत् बुबा चिनाएको बताए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष राधेश्याम लेकालीले ५४ वर्षदेखि नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताको उन्नयन र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको साहित्यिक पत्रकार संघको चर्चा गर्दै लोकार्पित दुवै कृतिबारे आफ्नो मन्तव्य राखे।

कार्यक्रममा दिनेश डिसी, श्रीओम श्रेष्ठ रोदन तथा कुशकुमार जोशीले लेखक नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व र कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै शुभकामना व्यक्त गर्दै मन्तव्य राखे।

कार्यक्रममा लेखक नरेन्द्रबहादुर श्रेष्ठले आफ्ना बुबा पूर्णबहादुर श्रेष्ठ र काका जुद्धबहादुर श्रेष्ठको स्मरण गर्दै बुबा नचिनेको बा काबारे लेखेको बताउँदै आमाको संस्कारले नरेन्द्रबहादुर श्रेष्ठ बन्न सकेकोमा गर्व लागेको बताए।

श्रेष्ठले जीवनका आरोहअवरोहबारे चर्चा गर्दै २०६२ सालमा आमा पनि गुमाउनुपरेको प्रसङ्ग उठाउँदै आमाको ऋण तिर्न आमाको प्रतिमा आफैंले बनाएको बताए।

कवि मुरारी सिग्देलले सहजीकरण  सो कार्यक्रममा सर्जक नरेन्द्रबहादुर श्रेष्ठद्वारा रचित 'नशा नशामा' गीतलाई चर्चित गायक नरहरि प्रेमीले गाएका थिए।

कार्यक्रममा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ र श्रीमती निरू श्रेष्ठलाई अभिनन्दन पनि गरिएको थियो।

नरेन्द्रबहादुर श्रेष्ठकी नातिनी निश्चिता श्रेष्ठद्वारा मञ्चासिन व्यक्तित्वहरूलाई रुद्राक्षको माला लगाइदिएर सम्मान गरिएको थियो भने मञ्चासिन व्यक्तित्वहरूलाई साहित्यिक पत्रकार संघका तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो।

कार्यक्रममा केही समयअघि मात्र दिवङ्गत हुनु भएका साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष, “उन्नयन” साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक लेखक अच्युतरमण अधिकारीको स्मृतिमा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जलि अर्पिएकाे थियो।

कार्यक्रमको अन्तमा लेखक नरेन्द्रबहादुर श्रेष्ठका सुपुत्र निश्चल श्रेष्ठले परिवारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित: ११ माघ २०८२ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App