जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पिठ्युँमा छुरा घोप्नेसँग सहकार्य हुन नसक्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालप्रति लक्षित गर्दै उनले अब माओवादीसँग जसपा नेपालको सहकार्य नहुने प्रष्ट्याएका छन्।
समाजवादी मोर्चा बनाएर दाहाललाई प्रधानमन्त्री बन्ने वातावरण बनाइदिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, 'प्रचण्डजी हामीलाई छुरा प्रहार गरेर अगाडि बढ्नु भयो। अब उहाँसँग सहकार्य अहिले सम्भव छैन।'
आउने दिनमा जसपासहित मधेसी मोर्चा बन्छ? भन्ने प्रश्नमा उनले भने, 'अधिकार प्राप्तिका लागि मोर्चा र सहकार्य हुन सक्छ।'
आजको दिन शोषण र उत्पीडनविरुद्ध बलिदानपूर्ण विद्रोह भएको दिन भएको उनले बताए। उनले भने, 'दासत्व र गुलामी मधेसलाई स्वीकार छैन भने सम्झिने दिन हो। गुलामीको जीवनभन्दा बलिदानी दिएर मधेसलाई अधिकार सम्पन्न बनाउने सहिदको सपना खेर जादैन।'
आजकै दिन २०६३ माघ ५ गते प्रथम मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतो सहिद भएका थिए। प्रथम बलिदानीको सम्झनामा आज लहानस्थित सहिद स्मारकमा रहेक सहिद प्रतिमामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माल्यार्पण गरेका छन्।
मधेसकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ। प्रथम मधेस आन्दोलनको आज १८ वर्ष पूरा भएको छ। २०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलको नेतृत्वमा काठमाडौँको माइतीघर मण्डलामा अन्तरिम संविधानको प्रतिलिपि जलाइएपछि प्रहरीले उनीसहितका नेतालाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो।
माघ ५ गते लहानमा सिराहा मझौराका विद्यार्थी रमेश महतो पहिलो सहिद भए। यसपछि मधेसभर आन्दोलन चर्किएको थियो। प्रदेश सरकारसहित मधेशकेन्द्रित दलले विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाउँदै आएको छ।
प्रकाशित: ५ माघ २०८१ १२:३० शनिबार