नेपाली राजदूतावास, बर्लिनले युरोपका विभिन्न मुलुकहरूमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई ठगी गर्ने घटनाहरू बढ्दै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दूतावासले शुक्रबार एक सूचना जारी गर्दै सजग रहन समेत अपिल गरेको छ। हालैका दिनमा रोमानिया, क्रोएशिया, माल्टा लगायतका मुलुकहरूमा वैदेशिक रोजगारीको सिलसिलामा कार्यरत नेपाली नागरिकहरूलाई विभिन्न प्रलोभन देखाएर पोल्याण्ड र बुल्गेरियामा गैरकानूनी रूपमा ओसारपसार गर्ने गतिविधि भइरहेको सूचना प्राप्त भएको सूचनामा उल्लेख गरेको छ।
'हालैका दिनमा रोमानिया, क्रोएशिया, माल्टा लगायतका मुलुकहरूमा वैदेशिक रोजगारीका सिलसिलामा कार्यरत नेपाली नागरिकहरूलाई विभिन्न प्रलोभन देखाई पोल्याण्ड तथा बुल्गेरियामा गैरकानूनी रूपमा ओसारपसार गर्ने गतिविधि भैरहेको भन्ने सूचना यस राजदूतावासलाई प्राप्त भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरू समेतको प्रयोग मार्फत यस प्रकारका प्रलोभन तथा झुठा विवरणको प्रचारप्रसार भएको पाइएको छ।'
सामाजिक सञ्जालहरू, विशेष गरी टिकटक र फेसबुकमार्फत, भ्रामक प्रचार गरिएको जानकारी पनि प्राप्त भएको दूतावासले जनाएको छ। विज्ञप्तिमा नेपालबाट विधिवत रूपमा श्रम स्वीकृति प्राप्त गरेका नागरिकहरूले सोही मुलुकमा मात्र कार्यरत रहन आग्रह गर्दै, यस्ता भ्रामक प्रचार र प्रलोभनमा नपर्न दूतावासले अपिल गरेको छ।
साथै, यस प्रकारका गैरकानूनी कार्यहरूमा कुनै पनि तरिकाले संलग्न नहुन सम्बन्धित सबैलाई सचेत गराउँदै यस्तो गलत कार्यमा कोही संलग्न भएको भए सोको प्रमाणसहित सम्बन्धित पीडितलाई राजदूतावासमा उजुरी गर्न समेत अनुरोध गरिएको छ।
प्रकाशित: ५ माघ २०८१ १३:५६ शनिबार