राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ८४ दिनमा रिहा भएका छन्। सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका लामिछाने ८४ दिनपछि बिहीबार (आज) रिहा भएका हुन्।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको हो। धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ।
काठमडौंमा उनी मुछिएको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस हुनेछ। त्यसपछि आदेश हुनेछ। आदेश कस्तो आउँछ, त्यसका लागि भने कुर्नैपर्छ। यसैगरी बुटवलको सुप्रिम, चितवनको साहारा र पर्साको सानो पाइला सहकारीको रकम अपचलनसम्बन्धी पनि एवम् रीतले प्रक्रिया अगाडि बढ्छ।
तर, संयोगचाहिँ के भने मिसन-०८४ भन्दै आएका लामिछाने ८४ दिनमै छुटिएका छन्। सामाजिक सञ्जालमा यसबारे अहिले सतही बहस गर्माएको छ। कतिपयले भने यसलाई संयोग मात्रै ठान्न नहुने बताइरहेका छन्।
०८४ मा आवधिक निर्वाचन हुँदैछ। जहाँ, बहुमत ल्याउने लामिछानेसहित रास्वपाका नेताहरूले बताउने गरेका छन्। गठन भएको पाँच महिनामै गत संसदीय निर्वाचनमा प्रतिनिधि सभामा २० सिट जितेको रास्वपा नेताहरूले ०८४ को आवधिक निर्वाचनमा देशकै नेतृत्व गर्नेगरी बहुमत ल्याउने बताइरहेका छन्।
त्यसो त यसबीचका उपनिर्वाचनहरूमा भने रास्वपा नेताहरूले भनेजस्तो अपेक्षित जनमत देखिएको छैन। एक हप्ता अगाडि बसेको केन्द्रीय समितिको विस्तारित बैठकले 'सङ्गठन नबनाइ नहुने' निष्कर्ष निकालेको रास्वपा नेताहरूले अब देशको मुख्य शक्ति बन्ने बताइरहेका छन्।
२०८० वैशाख १५ मा भएको पहिलो संसदीय उपनिर्वाचन फापेको रास्वपालाई दोस्रो उपनिर्वाचन फापेन। पहिलो उपनिर्वाचनमा स्वयम् लामिछानेले चितवन २ बाट जित्दा तनहुँबाट डा. स्वर्णिम वाग्लेले जित हात पारेका थिए।
यस्तै गत मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचन पनि रास्वपाका लागि त्यति हर्षोल्लासमय रहेन। निर्वाचन भएको ४४ स्थानमध्ये २७ ठाउँमा मात्रै उम्मेदवारी दिन सकेको रास्वपाले जम्माजम्मी काठमाडौं १६ मा एक ठाउँ जित्यो। यसपछि रास्वपाले सङ्गठन नबनाइ जनमत नबढ्ने निष्कर्ष निकालेको हो।
उसो त पुराना पार्टी र तिनका नेतालाई गाली गर्दै र 'नो नट एगेन'को नारा लगाउँदै राष्ट्रिय राजनीतिमा उदाएका लामिछाने यसबीचमा उनीहरूसँगै सलिढली बसे। केपी शर्मा ओली, शेरबहादर देउवा, पुष्पकमल दाहाललगायतका पुराना नेताहरूसँगै बस्दा उनको 'नो नट एगेन'को नारा कमजोर भएर गएको छ।
यसपछि कतिपयले केसमेत भनेका छन् भने लामिछाने र रास्वपा पुराना दल र नेताभन्दा 'खत्तम' भए। यतिचाहिँ भन्न सकिन्छ कि पार्टीको जीवन र जनमत रास्वपा नेताहरू सोचे र भनेजसरी सपाट रूपमा गएको छैन। ०८४ मा कस्तो जनमत बटुल्छ, त्यसका लागि त कुर्नैपर्छ। तर, मिसन ८४ को 'प्रवक्ता'कै रूपमा रहेका लामिछाने ८४ दिनमै छुट्नुचाहिँ रमाइलो संयोग बनेको छ।
यो पनि पढ्नुहोस्
अदालतको पूर्णपाठ- रवि कसुरदार रहेनछन् भन्न सकिएनप्रकाशित: २५ पुस २०८१ २०:०० बिहीबार