२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले र एकीकृत समाजवादीमध्ये कुनमा जाने ? अझै 'कन्फ्यूज'मै छन् वामदेव

एक हप्ता अगाडिसम्म नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्ने पक्कापक्कीजस्तै थियो।

गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित, उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाललगायतका नेताहरूसँग संवाद गरेर एकताको मोडालिटी तयार पार्नसमेत भनेका थिए।

तर, यहाँसम्म आउँदा भने उनले एकताबारे अनभिज्ञता प्रकट गरेका छन्। यसअघि बसेका नेकपा एकता अभियानका दुईवटा बैठकले एकीकृत समाजवादीसँग एकता गर्ने निर्णय गरिसकेको बताउँदै आएका गौतमले निर्णय हुनै बाँकी रहेको बताउन थालेका छन्।

बिहीबार (आज) नागरिकसँग कुराकानी गर्दै गौतमले भने, 'निर्णय हुन बाँकी छ। कुन पार्टीसँग मिल्ने भन्ने कुराको निर्णय पर्सि मात्रै हुन्छ। पर्सि बिहान बैठक बोलाएको छु।'

एकीकृत समाजवादीको कार्यालयमा वामदेव गौतम।

उनले नेकपा (एमाले)सँग पनि वार्ता भइरहेको बताए। 'मैले नै त कुरा गरेको छैन। अरु नेता साथीहरूले एमालेका नेताहरूसँग कुराकानी गरिरहनुभएको छ। अहिलेसम्म यही पार्टीसँग मिल्ने भन्ने भइसकेको छैन। एमालेमा जाने कि एकीकृत समाजवादीमा जाने, कन्फ्यूजमै छ,' उनले भने।

त्यसो त यसअघि उनले एमालेमा जाने भरमग्दुर प्रयास गरेका थिए। गौतमले अध्यक्ष केपी शर्मा ओली उपस्थित सार्वजनिक कार्यक्रममै पनि एमालेमा जोडिनका लागि आग्रह गरेका थिए। तर, ओलीले 'नपत्याएपछि' एकीकृत समाजवादीसँग वार्ता अगाडि बढाएका उनी यहाँसम्म आउँदा भने पुन: अनिर्णित बन्न पुगेका हुन्।

उसो त एमालेले राष्ट्रिय शक्ति निर्माणको आवश्यकता औँल्याउँदै पार्टी बाहिर रहेका नेताहरूलाई पुन: पार्टीमै फर्किन आह्वान गरेको छ। गत आइतबार सरु भएर मङ्गलबार सकिएको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।

यो पनि पढ्नुहोस्

एकीकृत समाजवादीसँग चाँडै एकता हुने भयो : वामदेव

निर्णय नं. १० मा भनिएको छ, 'निर्णायक राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यकता हो। यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता, र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्‌क्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न सम्भव छ। यस्तो शक्तिको निर्माण एमालेको नेतृत्वमा मात्रै सम्भव छ । यस यथार्थलाई मनन गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको यस अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायत कारणले पार्टी बाहिर रहनु भएका सबै कमरेडहरू र स्वतन्त्र ढङ्गले क्रियाशील रहनुभएका मित्रहरूलाई एमालेमा फर्कन यसमा आबद्ध हुन र सक्रिय हुन यो बैठक आह्वान गर्दछ।'

एमालेको आह्वान।

गौतमले यो निर्णयलाई पनि राम्रोसँग पढेको नेकपा एकता अभियानका एक नेता बताउँछन्। 'उहाँ (वामदेव गौतम) ले पनि हेर्नुभएको छ। फेरि उहाँले एमालेमै फर्किने चाहना पनि राख्नु पनि भएको हो। सुरुमा राम्रो रेस्पोन्स नभएपछि अरु कदम चालिएको थियो,' उनले भने।

ती नेताका अनुसार नेकपा एकता अभियानलाई एमालेबाट 'ग्रीन सिग्नल' प्राप्त भएको छ। उनका अनुसार थप संवादमार्फत टुङ्ग्याउने एमालेसँग थप समझदारी बनेको छ। 'नेकपा एकता अभियानका को-को नेताको व्यवस्थापन कसरी हुने भन्नेमा कुरा मिल्न बाँकी छ,' ती नेताले भने।

यता एमाले अध्यक्ष ओलीले भने बढी बार्गेनिङ नगर्न स्पष्ट सङ्केत गरेका छन्। बिहीबार (आज) काठमाडौंमा अनेरास्ववियूद्वारा आयोजित कार्यशालामा पुगेका ओलीले भनेका छन्, 'पसल एक सुकाको छैन, रुपैयाँ हालेर कहाँ हुन्छ।' ओलीको यो भनाइ गौतमतर्फ नै लक्षित भएको आकलन गरिएको छ। 

यो पनि पढ्नुहोस्

एकीकृत समाजवादीमा तेस्रो वरीयतामा वामदेव

 

प्रकाशित: २५ पुस २०८१ १७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App