२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

कहाँ फुर्सद छ विन्दा-उषाकिरणलाई !

गत पुस १० गते बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले दुई नेता विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बित गर्‍यो। सोही बैठकले अर्का नेता डा. भीम रावललाई त निष्कासित नै गर्‍यो। त्यसपछि मातृभूमि जागरण अभियान घोषणा गरेका रावल अहिले देश दौडाहामा छन्।

उनले निकट भविष्यमै नयाँ पार्टीको घोषणा गर्दैछन्। तर, विन्दा-उषाकिरण भने ६ महिनापछि पुन: पार्टीमा फर्किँदैछन्। यद्यपि, अहिले भने उनीहरू पार्टीको काममा छैनन्।

एमालेको केन्द्रीय कमिटी बैठक आइतबार (हिजो) बाट काठमाडौंमा जारी छ। जहाँ, विन्दा-उषाकिरण भने सहभागी छैनन्। तर, उनीहरू केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रस्ताव र अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनबारे भने जानकार छन्। 

पूरै प्रतिवेदन पढ्न बाँकी रहे पनि सांक्षेपमा सञ्चारमाध्यममा आएका अंशहरू हेरिसकेको उषाकिरण बताउँछिन्। 'पूरै प्रतिवेदन पढ्न बाँकी छ। तर, सञ्चारमाध्यममा आएका मुख्य-मुख्य विषयहरू हेरिरहेकी छु। पूरै प्रतिवेदन पनि पढ्नेछु, त्यसपछि थप बोल्ने हो,' उनले नागरिकसँग भनिन्।

अहिले काठमाडौंमै रहेकी उषाकिरणले आफन्तजन, इष्टमित्र र आफूले मान्नुपर्ने मान्छेहरूलाई समय दिन पाएकी छन्। विभिन्न कारणले दु:ख-विलौनामा परेका आफन्तजनहरूलाई सहानुभूति दिनका लागि अहिले उनीसँग प्रशस्त समय छ। र, समय पनि त्यसैमा बिताइरहेकी छन्।

निलम्बित नेताद्वय विन्दा पाण्डे र उषाकिरण तिम्सिना।

'अहिले आफन्तजनहरूसँग समय बिताउन पाएकी छु। दु:खमा रहनुभएका साथी-भाइहरूलाई भेट्न पाएकी छु, अहिले पनि यहीँ छु,' उनले भनिन्।

त्यसो त उषाकिरणलाई धेरैले ढाडस, सहानुभूति र उत्प्रेरणा पठाइरहेका छन्। फोन, मेसेज र प्रत्यक्ष भेटेरै पनि कतिपयले पार्टीको कारबाहीलाई ठूलो रूपमा नलिन र विचलित नहुन भनिरहेका छन्। 'अनेक हुँदोरहेछ। पार्टीका नेता साथीहरू, मलाई चिन्ने/नचिन्ने, मलाई पढाउने गुरुदेखि सबैले मोटिभेट गरिरहनुभएको छ। मलाई नचिन्नेहरूले चाहिँ कतै अरुतिरै कदम चाल्छिन् कि भनेर पनि शङ्का गर्नुहुँदोरहेछ,' उनले भनिन्।

जे होस्, उषाकिरण पार्टीको काममा छैनन्। तर, व्यस्तता भने अझ बढेको छ। पार्टीको कामका कारण 'ह्याम्पर' भएका व्यक्तिगत तथा सामूहिक कामहरूमा उनले समय दिन पाएकी छन्।

यता विन्दाको अवस्था पनि उस्तै छ। अहिले विराटनगर झरेकी विन्दा विभिन्न साथी तथा शुभेच्छुकहरूसँगको भेटमा व्यस्त छिन्। नागरिकसँग पनि उनले लामो समय बोलिनन्। भनिन्, 'पार्टीले बिदा दिइहाल्यो, त्यसैले अहिले पार्टीको काममा छैन।'

तर, उनले पार्टीले निलम्बन गरेपछि आफ्नो व्यक्तिगत काममा समय खर्चिन पाएकी छन्। उनले हाँस्दै सुनाइन्, 'पार्टीले बिदा दिएपछि अलिक फुर्सद होला भनेको त झन् व्यस्त पो भइयो।'

यो पनि पढ्नुहोस्

रावल, पाण्डे र तिम्सिनामाथिको कारबाही अनुमोदन

प्रकाशित: २२ पुस २०८१ १४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App