२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादीले ठुला दलसँग चुनावी गठबन्धन नगर्ने

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, एमालेसँग नमिलीकन आगामी चुनाव लड्ने भएको छ। माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्तावमा आगामी निर्वाचनमा कांग्रेस र एमालेबाहेक साना वाम तथा प्रगतिशील शक्तिहरूसँग मिलेर चुनाव लड्ने भनिएको छ।

बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले कांग्रेस, एमालेसँग गठबन्धन नगरी आगामी चुनाव लड्ने बताए। उनले नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतसँग एकताका लागि पहल गर्ने प्रस्ताव बैठकमा अध्यक्ष दाहालले राखेको जानकारी दिए।

बैठकमा अध्यक्ष दाहालले जनतामाझ पुग्न पहिलो चरणमा हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस अभियान र त्यसपछि मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन्। यसअघि एमालेले गरेजस्तै राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ।

बैठकमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका छन्। ‘अध्यक्ष दाहालले अबको दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन केन्द्रीय सदस्यहरूलाई मौखिक निर्देशन गर्नुभएको छ,’ बैठकमा सहभागी एक सदस्यले भने।

 दाहालले नेताहरूको जीविका कसरी चलेको छ भन्नेबारे आम जनताले बुझ्न पाउनुपर्ने बताएका थिए। बैठकमा अध्यक्ष दाहालले विशाल केन्द्रीय समिति पार्टीका लागि अवसर र चुनौती दुवै भएको बताएका थिए। ‘हाम्रो विशाल केन्द्रीय समिति आफैंमा चुनौती हो र आफैंमा एउटा अवसर पनि हो’, दाहाललाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने।

प्रकाशित: २२ पुस २०८१ ०७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App