नेता भीम रावलले एमालेबाट निकालिएपछि वैकल्पिक शक्ति निर्माणमा जुटेको बताएका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी रावलले वैकल्पिक शक्ति निर्माणमा जुटिसकेको बताएका हुन् ।
रावलले अहिले देशमा रहेका कुनै पनि पार्टीमा आफू नलाग्ने बरु देशभक्तहरूको नयाँ पार्टी गठनमा जुटिसकेको बताए । डा रावलले नयाँ पार्टी कहिले घोषणा गर्ने भन्ने विषयमा कुनै टुंगो नभए पनि हाल मातृभूमि जागरण अभियानमा जोडेर देशैभर संगठन निर्माणमा आफू जुटेको स्पष्ट पारे । उनले भने,‘हाललाई सम्पूर्ण देशभक्तहरूलाई मातृभूमि जागरण अभियानमा समेटेर देशैभर संगठन निर्माण गर्दै लैजाने र उपयुक्त समयमा पार्टीमा रुपान्तरण गर्ने गरी अघि बढेको छु ।’
डा रावलले अब, कम्युनिष्ट पार्टी नभई सबैलाई समेट्ने पार्टी गठन गर्ने तयारी रहेको बताए । दक्षिण पन्थी वामपन्थी भनेर कित्ताकाट गर्ने तर, आफ्नो स्वार्थमा जुन–जुन पार्टीसँग पनि मिल्ने र पदमा पुग्ने प्रवृत्ति उचित नभएको बताए । ‘केपी ओलीहरूले कांग्रेससँग, जनमतसँग मिलेर प्रधानमन्त्री हुन हुने मैले चाहिँ देशको हितमा देशभक्तहरूलाई समेट्न नहुने भन्ने हुँदैन ’ रावलले भने । उनले अहिलेका दलहरूको विकल्पका रुपमा वैकल्पिक शक्ति निर्माणका लागि अघि बढेकाले अब, वामपन्थी, दक्षिणपन्थी भनेर घोषणा नगर्ने स्पष्ट पारे ।
उनले काम महत्त्वपूर्ण भएकाले कामलाई विचारले निर्देशन दिने छुट्टै वैचारिक धरातल पनि निर्माण गर्ने दाबी गरे । रावलले भने,‘कुनै पनि विचार, दर्शन, संगठन मात्रै भएर नहुने भएकाले देशको आवश्यकता अनुसारको विचार पनि निर्माण गर्नुपर्छ ।’ एमालेलाई आफूले गाली नगरेको पनि रावलले स्पष्ट पारे । उनले एमाले र प्रधानमन्त्री ओलीले गर्छु भनेको कुरा के–के गर्नुभयो भनेर सोध्नु गाली नभएको बताए । ‘रेल चलाउँछु, बाटो बनाउँछु, भनेको काम के गर्नुभयो ? भनेर सोध्नु गाली हैन’ रावलले भने ।
प्रकाशित: २१ पुस २०८१ १६:५६ आइतबार