क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालैका टिप्पणीहरू फिर्ता लिन अस्वीकार गरेका छन्।
कार्नीले ट्रम्पसँगको फोन वार्तामा डाभोसमा भनेका कुरा नै दोहोर्याएको बताएका छन्। अमेरिकी अर्थ सचिव स्कट बेसान्टले फक्स न्यूजमा कार्नीले ट्रम्पसँगको कलमा आफ्ना ‘दुर्भाग्यपूर्ण’ भनाइहरू ‘आक्रामक रूपमा’ फिर्ता लिएको दाबी गरेका थिए।
तर कार्नीले यो दाबीलाई खण्डन गरेका छन्।
मंगलबार ओटावामा पत्रकारहरूसँग कुरा गर्दै कार्नीले भने, ‘राष्ट्रपतिले हिजो मलाई फोन गरे। हामीले युक्रेन, भेनेजुएला, आर्कटिक क्षेत्रको सुरक्षा लगायतका विषयमा राम्रो छलफल गर्यौं।’
‘राष्ट्रपतिलाई मैले डाभोसमा भनेको कुराको अर्थ जे भनेँ त्यही हो भनेर बताएँ। यो स्पष्ट थियो कि क्यानडाले अमेरिकी व्यापार नीतिमा आएको परिवर्तनलाई पहिले नै बुझेको थियो। उनीहरूले यसको सुरुवात गरे, र हामी त्यसको प्रतिक्रियामा कारबाही गरिरहेका छौं,’ उनले भने।
उनले थपे, ‘ट्रम्पले यो कुरा बुझेका थिए।’
हालै स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको बैठकमा कार्नीले ‘नयाँ विश्व व्यवस्था’ बारे भाषण दिएका थिए। उनले ठूला राष्ट्रहरूको प्रभुत्व र आर्थिक जबरजस्तीको विरुद्ध बोलेका थिए। उनले भनेका थिए, ‘मध्यम शक्तिका राष्ट्रहरूले एकजुट हुनुपर्छ, किनकि हामी टेबलमा होइन मेनुमा पर्छौं।’
यो भाषणलाई अमेरिकालक्षित मानिएको थियो। यसले ट्रम्पलाई आक्रोशित पनि बनाएको थियो। ट्रम्पले डाभोसमा नै भनेका थिए, ‘क्यानडा अमेरिकाका कारण बाँचेको छ। याद राख, मार्क।’
ट्रम्पले कार्नीको भाषणपछि क्यानडालाई आफूले बनाएको ‘शान्ति बोर्ड’ मा सामेल हुन पठाइएको निमन्त्रणा पनि फिर्ता लिएका थिए। यो बोर्डलाई ट्रम्पले गाजा शान्ति सम्झौता निरीक्षण गर्न सुरु गरेको भए पनि पछि यसलाई संयुक्त राष्ट्रसंघको विकल्प बनाउने प्रयास गरेको बताइएको छ।
यस घटनाले अमेरिका-क्यानडा सम्बन्धमा तनाव बढाएको छ। यसअघि ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा सय प्रतिशत ट्यारिफ लगाउने धम्की पनि दिएका थिए। जवाफमा कार्नीले केही क्षेत्रमा कर घटाए पनि क्यानडा चीनसँग पूर्ण स्वतन्त्र व्यापार सम्झौताका लागि तयार नभएको भनेका थिए। एजेन्सी
प्रकाशित: १४ माघ २०८२ १२:५५ बुधबार





