मोरङको रंगेलीबाट नक्कली नेपाली रुपैयाँ नोटसहित एक जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ।
रंगेली नगरपालिका–२ का ४५ वर्षीय सहमद हुसेनलाई नेपाली नक्कली रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा र उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो तिर्दा हुसेनले १–१ हजार दरका नक्कली नोट दिएका थिए।
नोट शंकास्पद लागेपछि पुरी र ढकालले प्रहरीलाई खबर लगत्तै पुगेको प्रहरी टोलीले हुसेनलाई पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले पक्राउ परेका हुसेनलाई सोधपुछका क्रममा घरमा समेत नक्कली नोट रहेको बताएपछि मंगलबार राति ८ बजेतिर उनको घर पुगेको थियो।
खानतलासी गर्ने क्रममा हुसेनले चलाउँदै आएको प्रदेश १–०१–००४ ह ६३७ नम्बरको सिटी सफारीको चालक बस्ने सिटको डिकीभित्र १ हजार दरका २ वटा नक्कली नोट फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। उनका अनुसार हुसेनकै साथबाट पनि अर्को नक्कली नोट फेला परेको थियो।
साथबाट बरामद भएको, पसलमा दिएको र सिटी सफारीमा फेला परेको गरेर ५ वटा नक्कली नोटसहित हुसेनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ। नक्कली नोटको धन्दामा ठूलै गिरोह संलग्न भएको हुनसक्ने प्रहरीले अनुमान गर्दै थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित: १४ माघ २०८२ १२:२७ बुधबार





