१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

नेतृत्व फेरिएको कांग्रेस नै अहिलेको सबैभन्दा नयाँ पार्टी: थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेतृत्व परिवर्तन भएर आएको कांग्रेस नै अहिलेको राजनीतिक मैदानमा सबैभन्दा नयाँ पार्टी रहेको दाबी गरेका छन्।

बिहीबार सर्लाहीको निर्वाचन क्षेत्र नम्बर-४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नयाँ र पुराना पार्टीको बहस चलिरहँदा माघ ६ गतेको महाधिवेशनबाट नेतृत्व फेरेको कांग्रेस नै वास्तविक अर्थमा नयाँ शक्ति भएको तर्क गरे।

मतदाताहरू माझ पुराना दल छोडेर नयाँलाई भोट हाल्ने चर्चा चलिरहेको सन्दर्भ कोट्याउँदै थापाले भने, ‘तपाईंहरूको बीचमा छलफल हुँदै गर्दा यो पटक पुरानो पार्टीलाई भोट नहाल्ने, नयाँलाई हाल्ने भन्ने कुरा भएको छ भने निष्कर्ष के निकाल्नुस् भने, आजको दिनमा चुनावको मैदानमा रहेका पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी भनेको माघ ६ गते अधिवेशन गरेर नेतृत्व फेरेर आएको नेपाली कांग्रेस हो।’

उनले पुरानो हुँदैमा सबै खराब नहुने भन्दै इतिहास, धर्म र परम्पराका असल कुरालाई गौरवका साथ जोगाउनुपर्ने बताए। यद्यपि, समयअनुसार संस्था बदलिनुपर्ने आवश्यकतालाई महसुस गर्दै आफूहरूले कांग्रेसलाई बदलेको उनको भनाइ थियो।

‘पुरानो असल कुरा जोगाउनुपर्छ र पुरानो खराबलाई त्याग्नुपर्छ। आज हामीले कांग्रेसलाई बनाउन खोजेको त्यही नै हो,’ उनले थपे, ‘यो हिजोको कांग्रेस होइन, हामी बदलिएर आएको कांग्रेस हौं। बदलिएको कांग्रेसले देशलाई बदल्ने संकल्प लिएको छ।’

सभापति थापाले आफूहरूले पार्टीभित्र रूपान्तरणको अभ्यास गरेको भन्दै अबको ५ वर्ष देशलाई नयाँ ठाउँमा पुर्‍याउने सपना र संकल्प बोकेर जनतामाझ आएको बताए।

प्रकाशित: १५ माघ २०८२ १७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App