५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

पर्सा निकुञ्जमा बाघ गन्न थालियो

चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक) मा बाघको गणना आजदेखि थालनी गरिएको छ । यसअघि चितवन र पर्साको दुई खण्डमा बाघको गणना गरेपछि तेस्रो खण्डमा गणना गर्न  सुरआत गरिएको हो ।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले चितवन–पर्सालाई तीनवटा ब्लकमा बाँडेर बाघ गणना गरिँदै आइरहेको जानकारी दिए ।

‘चितवन–पर्सा राष्ट्रिय निकुञ्जमा तीन ब्लकमा बाँडेर बाघ गणनाको काम भइरहेको छ,’ उनले भने, ‘चितवन–पर्सा क्षेत्रमा दुई खण्डमा बाघको गणनाको काम सकिएको छ । तर त्यसको डाटा प्रशोधनलगायतका काम भने अझैँ बाँकी नै छन्,’ उनले भने, ‘चितवन–पर्साको तेस्रो खण्डको काम गर्नका लागि विभिन्न स्थानमा स्वचालित क्यामेरा जडानको काम अघि बढेको छ । क्यामेरा जडान कार्य शनिबारसम्म चल्नेछ ।’  

क्यामेरा जडान गरिसकेपछि १५ दिन र रातको समयमा बाघको ‘मुभमेन्ट’लाई निगरानी गरिनेछ । क्यामेरामा ‘रेकर्ड’ भएको बाघको गतिविधिका आधारमा बाघको सङ्ख्या यकिन गरिनेछ ।

वरिष्ठ इकोलोजिष्ट आचार्यले चितवन र पर्साको पहिलो र दोस्रो खण्डमा देखिएका  सबल र दुर्लभ पक्षलाई मध्यनजर गर्दै अझै व्यवस्थित ढङ्गले सबै निकायसँग समन्वय गरेर बाघ गणनाको काम अघि बढाउन निर्देशन दिए ।  

‘पहिलो र दोस्रो खण्डमा देखिएका जटिलता र चुनौतीलाई ध्यान दिँदै सरोकारवाला निकायबीच समन्वय र सहकार्य गरेर बाघ गणना कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउनुहोला,’ उनले भने, ‘बाघ गणनाका लागि स्वचालित क्यामेरा जडानलगायतका कार्यमा पनि संवेदनशील र सुरक्षित उपाय अवलम्बन गर्न जरुरी छ । सोतर्फ ध्यान दिन अनुरोध गर्दछु ।’

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले तेस्रो खण्डको बाघ गणना गर्न १२ क्याम्पबाट सात–सात जनाको टोली खटाइएको जानकारी दिए । ‘तेस्रो भागको बाघ गणना गर्नका लागि यहाँ सात–सात जनाको टोलीले बाघ आउजाउ र हिँड्डुल गर्ने ठाउँलाई लक्षित गरेर ३२८ जोडा स्वचालित क्यामेरा जडान गरिनेछ,’ उनले भने, ‘ती स्वचालित क्यामेराले १५ दिन र रातको समयमा बाघको गतिविधिलाई कैद गर्नेछ । जसबाट आउने तथ्याङ्कबाट बाघको गणना गर्न सकिनेछ ।’

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले पर्सा निकुञ्जभित्र पर्ने विभिन्न १२ स्थानमा क्याम्प राखेर बाघ गणनाको काम अघि बढाइएको बताए । क्याम्पमा रहेका टोलीका सदस्यले क्यामेरा जडानदेखि निगरानी लगायतका काम गर्नुपर्नेछ ।

भाठ्ठाको दुई ठाउँमा क्याम्प गराइनेछ । त्यसैगरी शीतलपुर, महादेवपट्टि, अमलेखगञ्ज, चुरियामाई, रातोमाटे, सहजनाथ, निजगढ, चपुर, घोडेमसान, तामागढी लगायतमा सात–सात जनाको टोली खटिएर ३२८ जोडी स्वचालित क्यामेरा जडान गरेर बाघको निगरानी गरिनेछ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा गणेश पन्तले चितवन र पर्साको पहिलो र दोस्रो खण्डको बाघ गणनाको काम सकेर क्यामेरा निकालिसकेको बताए । ‘एक खण्डमा बाघको गणना गर्न राखेको स्वचालित क्यामेरा १५ दिन र रात राखेपछि आवश्यक प्रक्रिया पूरा गरेर निकाल्ने गरिन्छ,’ उनले भने, ‘क्यामेरा जडान गर्न र निकाल्नका लागि औसतमा दुई–तीन दिन लाग्ने गर्छ ।’ स्वचालित क्यामेरा ४० देखि ६० सेन्टिमिटरमा राख्ने गरिन्छ ।

उनले भने, ‘बाघ गणनाका लागि सरिक हुने गणकहरुले आफ्नो सुरक्षामा कुनै पनि खालको कमीकमजोरी नगर्नका लागि अनुरोध गर्दछु ।’ उनले पहिलो र दोस्रो खण्ड बाघ गणनाका क्रममा जङ्गली हात्ती तथा बाघको कारणले २४ वटा क्यामेरामा क्षत पुगेको जानकारी दिए । निकुञ्जका अनुसार पहिलो र दोस्रो  खण्डमा गरेर एक हजार २०४ जना स्वचालित क्यामेरा प्रयोग गरिएको थियो ।  

संरक्षण अधिकृत हेमराज आचार्यका अनुसार एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गणना गरिँदै आइरहेको छ । क्यामेरा दुई–दुई वर्गकिलोमिटरको दूरीमा राख्ने गरिन्छ ।  

हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी  हुने गर्छन् ।  

बाघको तस्बीर हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याउने गरिन्छ । यस अघि सन् २०२२ मा गरिएको बाघ गणनाअनुसार नेपालमा ३५५ वटा बाघ रहेको तथ्याङ्क सार्वजानिक गरिएको थियो ।  चितवन राष्ट्रिय निकुञ्जमा १२८ र पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाघ भेट्टिएको थियो । बाँकी अन्य ठाउँमा भेट्टिएका थिए ।

प्रकाशित: १५ माघ २०८२ १७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App