प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रस्थानविन्दु खोकनाको विवाद तत्कालका लागि थाती राखेर वैकल्पिक योजनासहित अघि बढ्न निर्देशन दिएकी छन्।
राष्ट्रिय गौरवको यो आयोजनालाई अनिश्चितकालसम्म विवादमा अल्झाइराख्न नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले निर्माण कार्यलाई तीव्रता दिन वैकल्पिक प्रस्थानविन्दु तय गर्न निर्देशन दिइन्।
मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उच्चस्तरीय छलफलमा प्रधानमन्त्री कार्कीले ललितपुरको खोकनामा देखिएको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको विवादका कारण आयोजना नै प्रभावित हुन नहुने बताइन्।
‘विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती हुनुहुँदैन। विवाद सुल्झाउने प्रयास गर्ने हो, तर समाधान हुन नसके विकल्प खोजेर अघि बढ्नुपर्छ,’ उनले भने।
प्रधानमन्त्रीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गरी खोकनाको सट्टा सहमति जुट्न सक्ने ठाउँबाटै प्रस्थानविन्दु कायम गर्न निर्देशन दिइन्।
ठूलो लगानीको आयोजना लामो समयसम्म लम्बिँदा राज्यलाई थप आर्थिक बोझ पर्ने भएकाले निकास खोज्नु अनिवार्य भएको उनको भनाइ थियो।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र प्रधान सेनापति अशोकराज सिग्देलसहितका उच्च अधिकारीहरूको उपस्थिति थियो।
सो क्रममा नेपाली सेनाका तर्फबाट आयोजनाको हालसम्मको प्रगति, देखिएका चुनौती र सरकारबाट अपेक्षित सहयोगका विषयमा संक्षिप्त ब्रिफिङ गराइएको थियो।
यसअघि गत माघ १३ गते आयोजनाको स्थलगत निरीक्षण गरेकी प्रधानमन्त्री कार्कीले स्थानीयका सरोकार र सांस्कृतिक संवेदनशीलतालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै आएकी थिइन्।
प्रकाशित: ५ फाल्गुन २०८२ १७:५७ मंगलबार





