५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौं–९ लाई नमुना क्षेत्र बनाउने डिपी अर्यालको संकल्प, भ्रष्टाचारमा ‘जिरो टोलरेन्स’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं काठमाडौं क्षेत्र नं-९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डोलप्रसाद अर्याल (डीपी) ले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेका छन्।

‘तपाईंको एक मत, विश्वासको सार, काठमाडौं क्षेत्र नं-९ को समृद्धिको आधार’ भन्ने मुख्य सङ्कल्पका साथ अर्यालले मंगलबार आफ्नो क्षेत्रको विकास र सुशासनको विस्तृत खाका प्रस्तुत गरेका हुन्।

अर्यालको वाचापत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र मौलिक संस्कृतिको संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ।

अर्यालले भ्रष्टाचार उन्मूलनका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने र प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी टोली गठन गर्ने प्रतिबद्धता जनाएका छन्।

सार्वजनिक सेवालाई जनमैत्री बनाउन मासिक रूपमा क्षेत्रगत सार्वजनिक सुनुवाइ गर्ने र जनगुनासोका आधारमा समस्यालाई बढीमा एक हप्तादेखि ३० दिनभित्र समाधान गर्ने संयन्त्र बनाउने वाचापत्रमा उल्लेख छ।

भौतिक विकासतर्फ कलंकी-सतुंगल-नागढुंगा र सीतापाइला-भीमढुंगा क्षेत्रलाई ‘हरित करिडोर’ का रूपमा विकास गर्ने अर्यालको योजना छ।

यस्तै, मेलम्चीको खानेपानी वितरणलाई व्यवस्थित बनाउने, वैज्ञानिक ट्राफिक व्यवस्थापन, ‘नो हर्न’ पोलिसीको पूर्ण कार्यान्वयन र धुलोधुवाँ नियन्त्रणमार्फत स्वच्छ सहर बनाउने सङ्कल्प उनले गरेका छन्।

खोला किनाराको सौन्दर्यीकरण, ढल निकास र फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनलाई पनि उनले जोड दिएका छन्।

स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रत्येक वडामा २४ सै घण्टा न्यूनतम स्वास्थ्य सेवा सुनिश्चित गर्ने, स्थानीय अस्पतालमा ट्रमा सेन्टरको व्यवस्था गर्ने र ज्येष्ठ नागरिक तथा विपन्न बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवाका लागि पहल गर्ने वाचापत्रमा समेटिएको छ।

यस्तै, काठमाडौंको मौलिक पहिचान बोकेको नेवा: संस्कृति, इतिहास र सम्पदाको डिजिटल अभिलेखीकरण गर्ने योजना अर्यालले अघि सारेका छन्। भवनको नक्सा पास गर्दा आधुनिक हरित रेटिङ र मौलिकताका आधारमा सहुलियत दिने नीति उनले अघि सारेका छन्।

स्वदेशमै रोजगारी सिर्जना गर्न व्यावसायिक तालिम केन्द्र स्थापना गर्ने र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई प्रशिक्षकका रूपमा नियुक्त गर्ने नीति उनको छ। पर्यटन प्रवर्द्धनका लागि पुरातात्त्विक क्षेत्रहरू समेट्ने गरी टुरिस्ट सटल बस र नाइट लाइनर सञ्चालन गर्ने योजना वाचापत्रमा उल्लेख छ।

अर्यालले लालपुर्जाविहीन समुदायलाई नियमसंगत जग्गाधनी पूर्जा वितरणको व्यवस्था मिलाउने र सडक स्तरोन्नति तथा जलविद्युतको हाइटेन्सन लाइनबाट प्रभावित स्थानीयलाई नियमसंगत मुआब्जा र क्षतिपूर्ति दिलाउन सङ्घीय संसद्‌मार्फत् पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विगतमा श्रममन्त्री हुँदा प्राप्त अनुभवलाई प्रयोग गर्दै काठमाडौं क्षेत्र नं-९ लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्य राखेको उनले बताए।

प्रकाशित: ५ फाल्गुन २०८२ १७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App