मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ सान्नानटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
पूर्व-पश्चिम सडकखण्डमा बुधबार अपराह्न भएको उक्त दुर्घटनामा परी रुपन्देहीका २८ वर्षीय जगदीश थारुको ज्यान गएको हो।
प्रहरीका अनुसार मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा प्र ०३-००१ ख ११७९ नम्बरको टिपरले ठक्कर दिएको थियो।
ठक्कर लगत्तै गम्भीर घाइते भएका थारुलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दाङ राप्ती गाउँपालिका-६ बस्ने २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन्। उनको दाहिने हात र आँखा मुनि चोट लागेको छ। घाइते चौधरीको अवस्था मध्यम रहेको र हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
मोटरसाइकललाई ठक्कर दिएर फरार भएको टिपर र त्यसका चालकलाई प्रहरीले केही नियन्त्रणमा लिएको छ। हेटौंडा-१५ भोर्ले बस्ने २६ वर्षीय चालक रोहित तामाङलाई प्रहरी चौकी बसामाडी लेबटले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चालक र टिपरलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: ५ फाल्गुन २०८२ १८:१३ मंगलबार





