सदरमुकाम गाईघाटस्थित थरुहट रङ्गशालामा जारी ‘एन्फा महिला च्याम्पियनसिप ०८२’को मङ्गलबारको खेलमा संकटा क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ। चर्च व्वाईज युनाइटेड क्लबलाई ४–१ गोलले पराजित गर्दै संकटा सेमिफाइनल प्रवेश गरेको हो ।
खेल सुरु भएको ३९ औँ मिनेटमा संकटाको तर्फबाट जर्सी नम्बर ९ की शुक्रिया मियाले पहिलो गोल गर्दै टोलीलाई अघि बढाएकी थिइन् । ४३ औँ मिनेटमा चर्च बोइजकी जर्सी नम्बर १० की वर्षा ओलीले गोल फर्काउँदै बराबरी बनाइन् ।
मध्यान्तरपछिको खेलमा संकटाले लगातार ३ गोल थप्न सफल भयो भने चर्च ब्वाइज गोलरहित रह्यो । ७० औँ मिनेटमा संकटाकी विदेशी खेलाडी लुसिया लैला जोसेले दोस्रो गोल थपिन् भने जर्सी नम्बर १० की अर्की खेलाडी पूर्णिमा राईले ७५ औँ मिनटमा तेस्रो गोल गरिन् । ८३ औँ मिनेटमा पुनः लुसियाकै प्रहार गोलमा परिणत हुँदा संकटाको गोल संख्या ४ पुग्यो ।
खेलको म्यान अफ द म्याच पूर्णिमा राई घोषित भइन् । उनलाई आयोजकको तर्फबाट नगद ७ हजार ५ सय र ट्रफी प्रदान गरियो ।
मैदानमा दर्शकको कमी देखिए पनि संकटा र चर्च ब्वाइजबीचको खेल निकै रोचक देखियो । खेलप्रेमीहरूले आजको खेललाई प्रतियोगिता सुरुदेखिको सबभन्दा रोचक भएको प्रतिक्रिया दिएका छन् ।
मङ्गलबारको खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाइनल सकिएको छ । बुधबारदेखि सुरु हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । संकटाले बिहीबारको खेलमा एपिएफसँग पौँठेजोरी खेल्नेछ । बुधबार र बिहीबारका विजेताहरू नै च्याम्पिएनका लागि भिड्न योग्य हुनेछन् ।
घरेलु गाईघाट महिला टिमसहित १० खेल समूहको सहभागी रहेको प्रतियोगिताको उद्घाटन खेलमा गाईघाटलाई एनआरटीले हराएको थियो भने दोस्रो दिनको दुई चरणको खेलमा नेपाल पुलिसले रियल टिमलाई, चर्च ब्वाइजले छहारी युथ क्लबलाई हराएको थियो । तेस्रो दिन एपिएफले आरस रिसोर्टलाई र चौथो दिन त्रिभुवन आर्मीले एनआरटीलाई हराएको थियो ।
पाँचौँ दिनसममको खेलमा घरेलु टिमसहित रिएल, छहारी, आरएस रिसोर्ट र चर्च ब्वाइजले मैदान खाली गरिदिएका छन् । सेमिफाइनलदेखिका खेलहरू निकै रोचक र प्रतिस्पर्धी हुने र दर्शक पनि थपिने अपेक्षा आयोजक एन्फाले गरेको छ ।
आगामी ९ गते हुने फाईनल खेलको विजेता टिमले साढे ७ लाख ५० हजार नगदका साथ उपाधि पाउनेछ भने उपविजेतालाई ५ लाख नगदसहित ट्रफी र मेडल प्रदान गरिने छ । आयोजक एन्फाका अनुसार प्रतियोगितामा विभिन्न टाइटल पुरस्कारसमेत वितरण गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित: ५ फाल्गुन २०८२ २०:१० मंगलबार





