आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपालविरुद्ध विशाल योगफलतर्फको यात्रा तय गरेको छ।
मुम्बईको वानखेडे स्टेडियममा भइरहेको प्रतिस्पर्धाको १५ ओभर समाप्त हुँदा स्कटल्याण्डले १ विकेटको क्षतिमा १३१ रन जोडेको छ।
स्कटल्याण्डका ब्याटर माइकल जोन्स नेपाली बलरहरूका लागि टाउको दुखाइ सावित भइरहेका छन्।
उनले मात्र ४४ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन बनाएर अविजित छन्। उनलाई तेस्रो नम्बरमा आएका ब्रान्डन म्याकमुलनले १७ बलमा २४ रन जोडेर उत्कृष्ट साथ दिइरहेका छन्। यी दुईबीच ५१ रनको अविजित साझेदारी भइसकेको छ।
नेपालका लागि आज बलिङ र फिल्डिङ दुवै पक्ष फितलो देखिएको छ। बलरहरूले लय समात्न नसक्दा स्कटल्याण्डले ८.७३ को औसत रनरेटमा रन बनाइरहेको छ। लेग स्पिनर सन्दीप लामिछानेले ३ ओभरमा २९ रन र कुशल भुर्तेलले ३ ओभरमा २६ रन खर्चिएका छन्।
बलिङमा मात्र होइन, मैदानमा नेपाली फिल्डरहरूको प्रदर्शन पनि निराशाजनक रहेको छ। महत्त्वपूर्ण समयमा क्याचहरू छोड्दा र फिल्डिङमा चुक्दा स्कटल्याण्डका ब्याटरहरूले जीवनदान पाएका छन्।
प्रकाशित: ५ फाल्गुन २०८२ २०:२४ मंगलबार





