१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

अबको २० वर्षमा देश नबने बुढ्यौली लाग्छ, काम गर्न मलाई जिताउनुस्: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको जनसाङ्ख्यिक लाभ लिने समय कम रहेको भन्दै अबको ५ वर्ष काम गर्नका लागि आफूलाई जिताउन आग्रह गरेका छन्।

बिहीबार सर्लाहीको निर्वाचन क्षेत्र नम्बर-४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभापति थापाले नेपालसँग अब विकासका लागि १८ देखि २० वर्ष मात्र समय रहेको दाबी गरे। ‘जसरी मान्छेलाई बुढ्यौली लाग्छ, देशलाई पनि बुढ्यौली लाग्छ,’ थापाले भने, ‘अहिले नेपाल युवा नै युवा भएको देश छ। तर २० वर्षपछि जापान र कोरियाजस्तै बुढ्यौली लाग्छ। देश बुढ्यौली लाग्नु अगावै धनी भएन भने देश डुब्छ। त्यसैले यो समय खेर फाल्ने सुविधा हामीलाई छैन।’

काठमाडौंको सुरक्षित निर्वाचन क्षेत्र छोडेर मधेसको प्रतिनिधित्व गर्न सर्लाही आएको बताउँदै उनले आफू पर्यटक सांसद नहुने बताए।

‘म यहाँ हात हल्लाएर, फोटो खिचेर बेपत्ता हुने मान्छे होइन,’ उनले भने, ‘म तपाईंहरूको सुखदुःखमा साथ दिने, यहाँको शिक्षा, स्वास्थ्य र रोजगारको समस्या समाधान गर्ने प्रतिनिधि हुँ। यहाँ मेरो संसदीय सम्पर्क कार्यालय रहनेछ र तपाईंहरूको गुनासो सुन्नेछु।’

सम्बोधनका क्रममा थापाले अबको ५ वर्षमा कतार र मलेसिया जाने युवालाई रोकेर विदेशी लगानीकर्तालाई नेपाल भित्र्याउने वातावरण बनाउने संकल्प लिएको बताए।

उनले भने, ‘आजका युवाहरू रिसाएका छन्, जुन जायज छ। अब पुराना कुरा गरेर हुँदैन, कांग्रेस बदलिएको छ र बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएको छ।’

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफूले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘कुनै पनि नागरिकले पैसाको अभावमा उपचार नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ,’ उनले थपे, ‘त्यसका लागि मलाई तागत चाहिएको छ। फागुन २१ गतेसम्म तपाईंहरूले मेरो भारी बोकिदिनुस्, त्यसपछिको ५ वर्ष तपाईंहरूको भारी म बोक्नेछु।’

उनले मतदातालाई डर, धाक र धम्कीको युग सकिएको भन्दै निर्धक्क भएर मतदान गर्न र आफूलाई एकपटक काम गर्ने मौका दिन आग्रह गरे।

प्रकाशित: १५ माघ २०८२ १७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App