विश्व जलवायु सम्मेलन (कोप २९ ) उपलब्धिमूलक हुन नसकेको भन्दै प्रतिनिधि सभाका सांसदहरूले रोष व्यक्त गरेका छन्।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले कोप २९ को समीक्षा गर्न आयोजना गरेको छलफलमा सांसदहरूले वन मन्त्रालयका कर्मचारीहरू माथि रोष प्रकट गरेका हुन्। वन मन्त्रालयका कर्मचारीहरूको कारणले कोप २९ भद्रगोल भएको टिप्पणी गरेका छन्।
सार्वभौम संसदका सदस्यको भूमिकालाई नजरअन्दाज गरेको आरोप उनीहरूको छ। समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले कोप २९ जस्तो बिजोकको सहभागिता पहिला कहिल्यै नभएको टिप्पणी गरे। राष्ट्रलाई विश्वसामु प्रतिनिधित्व गर्न राजनैतिक नेतृत्व नै आवश्यक रहेको बताए।
कोप २९ मा संसदीय समितिको प्रतिनिधित्व नगर्दा अपेक्षाकृत प्रतिफल हासिल हुन नसकेको तर्क उनले गरे। उनले वन मन्त्रालयका कर्मचारीहरूले सांसदहरूलाई केही नजान्ने, ज्ञान नभएको (गोज्याङ्ग्रे) जस्तो ठान्ने गरेको आरोप लगाए।
सांसद बलायरले कोप सम्मेलनमा राजनैतिक नेतृत्वले खेल्नसक्ने भूमिकालाई समेत वन मन्त्रालयले आझेलमा पारेको बताए। जलवायु सम्मेलन जस्ता सम्मेलनहरू निजी मामिला जस्तो व्यवहार हुन थालेको भन्दै आक्रोश व्यक्त गरे। जलवायु परिवर्तनका असरविरुद्ध देश आफैँले धेरै गर्नसक्ने अवस्था भए पनि मन्त्रालयले चासो नदिएको आरोप सांसद बलायरको छ।
ठूलाठूला भौतिक संरचना बनउनु अघि गरिने वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टलाई वन मन्त्रालयले अनुगमन गर्न नसकेको बताए। रिपोर्ट स्वीकृत गर्ने तर अनुगमन गर्न नजाने गरेको आरोप सांसद बलायरको छ। वन मन्त्रालयले समितिसँगको सहकार्यबिना काम गर्न नसक्ने भन्दै एक्लै हिँड्ने कोसिस नगर्न चेतावनी दिए।
प्रकाशित: २० पुस २०८१ १३:०६ शनिबार