२१ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

‘सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गरौं’

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्। अवधी पत्रकार संघ नेपालले बिहीबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले संविधान संशोधन गर्नुपर्ने विषयमा आफ्नो पार्टीले सुरुदेखि नै आवाज उठाउँदै आएको बताए।

संविधान संशोधन गर्दा शासकीय स्वरूप, निर्वाचन प्रणाली, समावेशिता, प्रदेशलाई अधिकार सम्पन्न गराउने कुरामा परिवर्तन गर्न आवश्यक रहेको पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवको भनाइ छ।

मुलुकमा रहेका सात प्रदेशको संख्या बढाएर १० वटामा पुर्‍याउनुपर्ने उनले जोड दिए। ‘वर्तमान संविधान वास्तवमा संविधानसभामा व्यापक छलफल गरेर आएको होइन, संविधान सभामा तीन सय ६१ वटा संशोधन प्रस्ताव दर्ता भएको थियो। तर पनि छलफल नै नभएर संविधान ल्याइयो,’ उनले भने, ‘हामीले संविधान गलत छ, संशोधन गरौं भनेर देशव्यापी रूपमा आन्दोलन गरेका हौं।’

संविधान संशोधन गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलसँग पटकपटक सहमति भए पनि कार्यान्वयन नभएको यादवले आरोप लगाए। ‘संविधान संशोधन गर्ने अहिलेको आवश्यकता हो, सबै शक्तिले स्वामित्व लिने गरी संविधान संशोधन गरौं तर समावेशी लोकतन्त्रलाई समाप्त पार्ने गरी संशोधन नगरौं,’ उनले थपे।

संघीय लोकतन्त्रलाई नै धरापमा पार्ने चेष्टा गरिएमा जनता चुप लागेर नबस्ने अध्यक्ष यादवले बताए। मुलुकमा बहुदलीय व्यवस्थालाई समाप्त पारेर दुई दलीय व्यवस्थामा लैजाने षड्यन्त्र पनि भइरहेको उनको आरोप छ।

अर्को प्रसंगमा जसपा अध्यक्ष यादवले दुई ठुला दलले चलाएको वर्तमान सरकारले जनताका लागि खासै केही काम गर्न नसकेको बताए। ‘हामीले बाहिरै बसेर यो सरकारलाई समर्थन पनि गर्‍यौं, यत्रो दिन भइसक्यो कुनै सुधारको सकारात्मक सन्देशसम्म देखा परेका छैनन्,’ उनले भने, ‘न आर्थिक, न राजनीतिक, न कानुनी, न प्रशासनीक, न विकास निर्माण, कुनै पनि क्षेत्रमा कुनै उपलब्धि नै देखिँदैन।’

प्रकाशित: १९ पुस २०८१ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App