सरकारको सहयोग र संरक्षण नपाउँदा डुब्ने अवस्थामा पुगेको मोरङका पशुपालक किसानहरूले गुनासो गरेका छन् । विराटनगरमा ‘जय किसान, जय नेपाल अभियान’ सञ्चालन गर्दै किसानहरूले सरकारको सहयोग र संरक्षण नपाउँदा पशुपालक किसानहरू डुब्ने अवस्थामा पुगेको गुनासो गरेका हुन् ।
पशुपालन क्षेत्रमा किसानले गरेको अबौंको लगानी डुब्ने अवस्थामा पुगेपछि समस्या समाधानका लागि सम्बन्धित निकायमा दबाब दिन किसानहरू सङ्गठित भएको जय किसान जय नेपाल अभियानका अध्यक्ष डम्बरबहादुर कार्कीले जानकारी दिए। उनले अरुक्षेत्र डुब्न लाग्दा संरक्षण गर्ने तर, किसान डुब्दा वास्ता नगर्ने सरकारको प्रवृत्ति रहेको बताए ।
उनले भने,‘बैंक, उद्योग डुब्न लाग्दा सरकारले सहयोग गर्छ तर, किसान डुब्न लाग्दा कुनै वास्ता छैन ।’ किसानहरूको सक्रियताले पछिल्लो समय देश दूधमा आत्मनिर्भर बनेको भए पछि किसानलाई सरकारले संरक्षण नगर्दा किसानहरू नै डुब्ने अवस्थामा पुगेको कार्कीले बताए । उनले कामदार, दाना र अन्य खर्च अत्याधिक बढे पनि किसानले उत्पादन गरेको दुदको मूल्य नबढेका कारण किसान घाटामा गएको बताए । यति मात्रै हैन बजारमा भएको दुदको मूल्यको अनुपातमा किसानले पाउने मूल्य पनि न्यून रहेको छ।
किसानबाट व्यापारीहरूले दूध सस्तोमा किन्ने र बजारमा महँगोमा बेच्दा किसान र उपभोक्ता दुबै मारमा परिरहेको उनले बताए । सरकारले पशुपालक किसानहरूलाई पुन कर्जाको व्यवस्था नगरे किसानहरूको फर्मबैंकले लिलाम गर्ने हुँदा धेरै किसान समस्यामा पर्ने बताए । २५ करोड रुपैयाँ लगानीमा आफूले मोरङको भौडाहामा कृषि फर्म सञ्चालन गरिरहेको भए पनि निरन्तरको घाटाले समस्या भएको कार्कीले बताए ।
कार्कीमात्रै हैनन् मोरङ कटहरका रामनरेश मण्डललाई पनि पशुपालनलाई निरन्तरता दिन गाह्रो भएको छ । उनले सरकारले सहयोग नगरे आफूहरूलाई समस्या हुने बताए । उनले सरकारले दूध र दानाको मूल्यमा कैफियत भइरहेका कारण सरकारले नियमन गर्न आवश्यक रहेको बताए ।
आफूहरूले पशुपालन किसानहरूको समस्या समाधानको माग गर्दै केही दिन पहिले कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीलाई पनि ११ बुँदे माग पत्र बुझाएको मण्डलले बताए । किसानहरूले घाटा लागेर डुब्ने अवस्थामा पुगेका किसानलाई सरकारले सहयोग गरी डुब्नबाट जोगाउन आग्रह गरेका छन् । सरकारले आफूहरूका माग सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने किसानहरूले चेतावनीसमेत दिएका छन् ।
प्रकाशित: २१ पुस २०८१ १२:५६ आइतबार