नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई आफूले त्याग गर्न सुझाव दिँदा पार्टीबाट निकाल्ने काम नगरेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘हाम्रो सभापतिले कति काँधमा बोक्दा बोक्दा दुखिसक्यो होला ! म बोकिदिन्छु भन्ने अभाव देखिराछु कांग्रेस पार्टीमा,’ पार्टीभित्रको छलफललाई स्मरण गर्दै शर्माले भने, ‘दिए देखि खाउँला भनेर हुँदैन । म बोक्न चाहने हो भने दृढतापूर्वक उभिन प¥यो ।’
आफूले सभापति देउवाले गरेको असल कर्म सम्झाएको पनि महामन्त्री शर्माले बताए । उनले भने, ‘मैले त भने सभापति ज्यू तपाईँले सबै कर्म गरिसक्नु भो । मधेस तपाईँले मिलाउनुभयो, कमैया मुक्ति तपाईँले गर्नुभयो । दलित आयोग तपाईँले बनाउनुभयो, मुस्लिम आयोग तपाईँले बनाउनुभयो, महिला आयोग तपाईँले बनाउनुभयो ।’
अब त्याग मात्रै गर्न बाँकी रहेको कुरा पनि भनेको शर्माले सम्झिए । ‘अब तपाईँले धेरै काम गरिसक्नुभयो सभापति ज्यु तपाईँले गर्न एउटा काम बाँकी छ । उहाँले भन्नुभयो– के बाँकी छ के बाँकी छ ?,’ उनले भने, ‘मैले भने–त्याग गर्न बाँकी छ ।’
सभापति देउवा आफ्नो पिता समान रहेको पनि उनले बताए । ‘त्यसैले त्यो सम्मान राखेर बोल्छौँ । अगाडि बोल्छौँ, सँगै राखेर बोल्छौँ,’ उनले सुनाए ।
तर, प्रक्रिया भइसकेपछि मानेर जाने महामन्त्री शर्माले प्रस्टोक्ति दिए । उनले भने, ‘संसदीय दलले उहाँलाई नै भन्छ त मान्नुपर्यो, केन्द्रीय समितिले उहाँलाई नै भन्छ त मान्नुपर्यो । यसको आधारमा स्पष्टीकरण काट्ने र गेटबाट निकाल्ने कर्म पार्टीमा हुँदैन ।’
प्रकाशित: १६ पुस २०८१ २०:०३ मंगलबार





-600x400.jpg)