२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

भरतपुर महानगरका पूर्वइन्जिनियर आचार्यविरुद्ध साढे ६ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिका पूर्वइन्जिनियर भरतकुमार आचार्यविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आचार्यले गैरकानुनी रुपमा ६ करोड ७८ लाख रुपैयाँबराबरको सम्पत्ति आर्जन अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

अभियोगपत्रमा आचार्यले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको दाबी गरेको छ । आचार्यले भरतपुर महानगरपालिकाको विकास निर्माण बजेट दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको देखिन्छ । 

अख्तियारका अनुसार २०४८ माघ ६ गते सरकारी सेवामा प्रवेश गरेका आचार्य २०८० मा अवकाशमा गएका थिए । उनको सेवा अवधिमा कमाएको सम्पत्तिको जाँचबुझ गर्दा ठुलो रकमको वैधानिक स्रोत नखुलेको हो । उनले कमाएको ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँको स्रोत नदेखिएको हो । उनको पारिश्रमिक, भत्ता र अन्य वैधानिक आयको तुलनामा यो रकम अस्वाभाविक देखिएको अख्तियारको ठहर छ । 

आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको रकम पत्नी लिली सुवेदीका नाममा लगानी गरेको अनुसन्धानबाट देखिएको छ । उक्त रकमबाट विभिन्न स्थानमा जग्गा खरिद, भव्य घर निर्माण, विलासी गाडी खरिद गरिएको र बैंक खाताहरूमा पनि ठुलो रकम मौज्दात भएको अनुसन्धानबाट पाइएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आचार्यकी पत्नी लिलीलाई पनि प्रतिवादी बनाएको छ । 

अवैध रूपमा आर्जन गरी पत्नीका नाममा राखिएको सम्पत्ति जफत हुनुपर्ने मागदाबी अभियोगपत्रमा गरिएको छ । ‘आचार्यको वैध आयको तुलनामा खर्च र लगानीको अनुपात अमिल्दो देखिएकाले भ्रष्टाचार निवारण ऐनबमोजिम हदैसम्मको सजाय र बिगो असुलको माग गरिएको छ,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

आचार्य राजपत्रांकित तृतीय श्रेणीका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । आचार्यको पारिश्रमिक÷तलब, दैनिक भ्रमणभत्ता, स्थानीयभत्ता, बैठक भत्तालगायत अन्य भत्ताबापत बचत रकम, जग्गा बिक्रीबाट प्राप्त आय, उनकी पत्नीको पारिश्रमिक बचत, बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त कर्जाबापतको रकम, घर बहालबाट प्राप्त आय, विभिन्न फर्म÷कम्पनीहरूमा गरेको लगानीबाट प्राप्त नाफा रकम, सवारीसाधन बिक्रीबाट प्राप्त रकम, बैंक तथा वित्तीय संस्थाहरूको खातामा भएको मौज्दातबाट प्राप्त ब्याज आय र विभिन्न व्यक्तिहरूबाट बैंकिंङ माध्यमबाट प्राप्त रकमसमेत गरी निज तथा निजका एकाघर परिवारका सदस्यहरूको जाँच अवधिमा वैधानिक तीन करोड एकाउन्न लाख आठ हजार दुई सय दस रूपैयाँ वैध आम्दानी देखिएको अख्तियारले जनाएको छ ।

सोही अवधिमा आचार्य तथा निजका एकाघर परिवारका सदस्यहरूको व्ययतर्फका शीर्षकहरूमा जग्गा खरिद रकम, घर निर्माण, सवारीसाधन खरिदबापतको रकम, उनी र उनकी पत्नीको जीवन बीमा शुल्क भुक्तानी रकम, छोराछोरीको शैक्षिक खर्चबापतको रकम, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा तथा ब्याजबापतको रकम, विभिन्न फर्म÷कम्पनीमा लगानीबापतको रकम, विभिन्न व्यक्तिलाई बैंकिङ माध्यमबाट भुक्तानी गरेको रकम र आफ्नो तथा एकाघर परिवारका सदस्यहरूको नाममा रहेको बैंक खातामा भएको मौज्दातसमेत गरी १० करोड २९ लाख ९९ हजार दुई सय छब्बीस रूपैयाँ रहेको अख्तियारले अदालतमा पेस गरेको आरोपपत्रमा उल्लेख गरेको छ । यसरी सबै आय घटाउँदा ६ करोड ७८ लाख ९१ हजार रुपैयाँ अवैध देखिएको अख्तियारको दाबी छ । 

प्रकाशित: १३ माघ २०८२ २०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App