कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तका रूपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाको बयान मंगलबार सकिएको छ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा रविसहित छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, मिना गुरुङ, आरती गुरुङ, र कृष्णबहादुर गुरुङले बयान दिएका हुन्। आरती गुरुङको अन्तिम बयानपछि थुनछेक बहस सुरु गरिएको छ।
यसअघि पुस ७ गते १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै पूरक अभियोग दर्ता गरिएको थियो। सरकारी वकिल कार्यालयले सातै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग राखेको छ भने प्रतिवादीका वकिलहरूले साधारण तारेखमा छोड्नुपर्ने पक्षमा बहस गरेका छन्।
सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा रवि लामिछानेसहितका १९ जनाविरुद्ध आरोप लगाइएको छ। पुस ५ मा थप अभियोग दर्ता गर्दै ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा चलाइएको हो, जसमा ८ कानुनी व्यक्ति (कम्पनी) र ५ जनालाई सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ।
थुनछेक बहसपछि न्यायाधीश राईको इजलासले प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने, धरौटीमा छाड्ने, वा साधारण तारेखमा छाड्ने निर्णय गर्नेछ।
प्रकाशित: १६ पुस २०८१ १५:१० मंगलबार