२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

भीम रावलको पार्टी र नेपाली कांग्रेस बीपीबीच एकता हुने !

नेकपा (एमाले) बाट निष्कासित नेता डा. भीम रावलले नयाँ पार्टी घोषणाको तयारी थालेका छन्। बुधबार पत्रकार सम्मेलनबाट पार्टीको कार्यक्रम र नीतिबारे जानकारी गराउने र देश दौडाहामा निस्किने तयारी रावलको छ। 

देश दौडाहाबाट प्राप्त सल्लाह र सुझावका आधारमा पार्टी बनाउने तयारी रावलले गरेका छन्। रावलको सचिवालय सदस्य एकिन्द्र कुँवरले भने, 'पार्टी बनाइहाल्ने होइन, देश दौडाहाबाट प्राप्त सुझावअनुसार पार्टी बनाउने हो।'

पार्टीको नाम भने कम्युनिष्टमा सीमित नगर्ने रावलको रणनीति छ। कम्युनिष्ट तथा गैरकम्युनिष्ट पार्टीका असन्तुष्ट नेताहरूलाई समेट्ने गरी पार्टीको नाम गैरकम्युनिष्ट हुने रावल निकट नेता कृष्णराज सुवेदी बताउँछन्।

'कम्युनिष्ट धेरै भइसके तर, भएको भने केही छैन। त्यसैले अब पार्टीको नामचाहिँ सबै अटाउने गरी राख्ने हो,' सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीसमेत रहेका सुवेदीले भने, 'खुला भएर देशभक्त र विकास, समृद्धिमा केन्द्रित पार्टी बनाउने हो।'

त्यसो त रावलले कम्युनिष्ट तथा गैरकम्युनिष्ट पार्टीका नेताहरूसँग संवाद अघि बढाइसकेका छन्। सोमबार मात्रै उनले नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र नेकपा (एकीकृत समाजवादी) का पूर्वकेन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सांसद तारा जोशीसँग संवाद गरेका छन्।

भीम रावल, कर्ण मल्ल र तारा जोशी।

संवादका क्रममा मिलेर अगाडि जाने प्रारम्भिक समझदारी भएको नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल बताउँछन्। 'मिलेर जाने भन्ने प्रारम्भिक समझदारी भयो भनौँ न,' मल्लले भने।

तपाईं त नेपाली कांग्रेस बीपीको नेता, कसरी मिल्नुहुन्छ ? भन्ने नागरिकको जिज्ञासामा उनले भने, 'म मात्रै होइन, पार्टी नै मिल्ने कुरा हो। सुरुमा कार्यगत एकता हुन्छ। त्यसपछि थप संवाद हुँदै अगाडि बढ्ने हो।'

मल्लको दाबी छ कि अब बन्ने रावलको पार्टी र नेपाली कांग्रेस बीपीबीच पार्टी एकता हुनसक्छ। त्यसमा नेपाली कांग्रेस बीपीका सभापति सुशिलमान शेरचन पनि सकारात्मक भएको भनाइ मल्लको छ। 'म मेरो पार्टीको सभापति सुशिलमान शेरचनज्यूसँग पनि भेटेँ, उहाँ भर्खरै जानुभयो। उहाँ पनि यो कुरामा सकारात्मक हुनुहुन्छ,' उनले भने। 

अगाडि उनले भने, 'उहाँ (भीम रावल) लाई केपी ओलीले र मलाई शेरबहादुर देउवाले तीन वर्ष अगाडि निकालेको सन्दर्भमा हामी निकालिने-निकालिने मिल्ने कुरा भयो। उहाँ साइनोले दाइ हो, गाउँको। अब राजनीतिक रूपमा पनि मिलेरै अगाडि बढ्ने भन्ने कुरा भएको छ। थप संवाद गर्छौँ।'

मल्लको दाबी छ, त्यसकै लागि अहिले रावलले गैरकम्युनिष्ट नाम राख्ने भएका हुन्। 

कहिले हुन्छ रावलको पार्टी घोषणा ?

पार्टी घोषणा यही मितिमा हुन्छ भनेर भन्न नसकिने अवस्था रहेको रावलको सचिवालय सदस्य एकिन्द्र कुँवर बताउँछन्। 'पार्टी बन्ने भयो तर, कहिले भन्नेबारे अहिल्यै भन्न सकिँदैन,' उनले भने।

भीम रावल।

बुधबार पत्रकार सम्मेलन गरेपछि जनआवाज सुन्न देशभर हिँड्ने र त्यहाँबाट प्राप्त सल्लाह र सुझावलाई समेट्दै पार्टी निर्माणमा जुट्ने तयारी रावलको रहेको कुँवर बताउँछन्।

'पार्टी घोषणा गरिहाल्ने होइन, अहिले जनआवाज सुन्न हिँड्ने हो,' उनले भने, 'बाहिर भनिएजस्तो बुधबार नै पार्टी घोषणा गरिहाल्ने होइन।'

अहिलेका लागि अभियान भनेर देश दौडाहामा निस्किने तयारी रावलको छ। उक्त अभियानमा जतिसक्दो नेताहरू जोड्ने तयारी रहेको नेताहरूले बताएका छन्। त्यसअनुसार पार्टी घोषणा गर्ने रावलको तयारी छ। 

यो पनि पढ्नुहोस्

के रहन्छ भीम रावलको पार्टीको नाम ?

प्रकाशित: १५ पुस २०८१ १८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App