नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधनले देशलाई ठुलो क्षति पुगेको बताएका छन् । शनिवार सिंहको निधनको १३ औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
‘उहाँ कहिल्यै नथाक्ने, अत्यन्तै क्रियाशील र सक्रिय व्यक्तिको रूपमा मैले लिएको छु ,’ सभापति देउवाले भने, ‘उहाँले गणेशमानजीको बलिदानलाई मात्रै होइन, काठमाडौंवासीहरुको सेवा पनि उहाँले महत्वका साथ समर्पित भएर गर्नुभयो ।’
स्व. सिंह मेहनती र लोकप्रिय भएकाले मात्रै काठमाडौं महानगरपालिकाको मेयरमा जितेको देउवाले बताए । उनले भने, ‘अहिलेसम्म हामी(कांग्रेस)ले अरूले जितेको छैन । जनताप्रति उत्तरदायी भएकाले उहाँ लोकप्रिय हुनुभएको हो । उहाँको जति बखान गरे पनि कम हुन्छ ।’
सिंह आँखामा नबिझाउने व्यक्ति रहेको पनि सभापति देउवाले बताए । ‘पार्टीका लागि अपूरणीय क्षति भएको छ । राष्ट्रका लागि नै अपूरणीय क्षति भएको छ । त्यसको क्षतिपूर्ति हामी गर्न सक्दैनौँ,’ देउवाले भने ।
सिंहले देखाएको बाटोमा हिँड्नसके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै देउवाले उनले देखाएको बाटोमा हिँड्का कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरे । ‘उहाँको बाटोमा हिँड्दा पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्नेछ’, उनले भने ।
प्रकाशित: १३ पुस २०८१ १३:१७ शनिबार