१४ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

धनगढी पुगेर आरजुले भनिन्: पहिला हारियो, फेरि यही चुनाव लड्छु

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफू फेरी धनगढीबाटै चुनाव लड्ने विचारमा रहेको बताएकी छन् । शनिवार कैलालीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देउवाले पहिले टेक्निकल कारणले चुनाव हारेको भए पनि फेरी धनगढीमै निर्वाचन लड्ने बताएकी हुन् । 

‘म यहाँ पहिला पनि तपाईँहरूकहाँ आएर लडेको थिएँ । त्यति बेला धेरै सहयोग गर्नु भा हो । अब केही टेक्निकल कारणले हारियो होला,’ मन्त्री देउवाले भनिन्, ‘तर, फेरी पनि म यहीँ आएर लड्ने विचार छ ।’

सो क्रममा धनगढीको संगठनको हालत हेर्दा भने आफ्नो चित्त दुख्ने देउवाले बताइन् । ‘तर, यस्तो सङ्गठन छ भन्दा म मात्र होइन अरू पनि भाग्ला फेरी । सबै खत्तम, बरबाद !,’ उनले भनिन् । 

धनगढीको पार्टी संगठनमा आपसी द्वन्द्व डरलाग्दो रहेको पनि मन्त्री देउवाले सुनाइन् । उनले भनिन्, ‘आपसी द्वन्द्व, मैले पहिला पनि भनेँ, पार्टीमा कुनै विचारको पछि लाग्नु चाहिँ, नितान्त मेरो व्यक्तिगत सम्बन्ध कोहीसँग राम्रो कोहीसँग नराम्रो । कोही मन पर्छ, कोही पर्दैन भनेर राजनीति चल्दैन ।’

राजनीति एउटा गन्तव्य हुने बताउँदै व्यक्तिगत कुरालाई लिएर माथि उठ्न नसक्ने पनि उनको भनाई थियो । ‘देशलाई यो ठाउँमा लाग्छौं, हाम्रो समाजलाई यसरी व्यवस्थापन गर्छौँ । देशको विकास यसरी गर्छौँ भनेर एउटा प्रिन्सिपलको पछि हामी लागेका छौँ,’ उनले भनिन् । त्यो प्रिन्सिपलका पछि लाग्ने हो भने व्यक्तिगत कुरा त्याग्नुपर्ने उनले बताइन् । 

प्रकाशित: १३ पुस २०८१ २०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App