प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सत्ता साझेदार दल नेपाली कांग्रेसले वर्तमान सरकार फेर्ने प्रस्ताव ल्याएको दाबी गरेका छन् ।
रुकुम-पूर्वको भूमे गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिलेको सरकारप्रति जनतामा घृणा बढ्दै गएको बताउँदै कांग्रेस नेताहरूले सरकार फेर्ने प्रस्ताव लिएर आएको पुनले बताए । 'विकल्पमा कुरा गरौँ भन्नुभएको छ । तर, हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र बिचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहदैनौँ। यो हाम्रो प्रतिबद्धता हो,’ उनले भने ।
अगाडि उनले भने, 'एमालेका नेताहरू आएर बीआरआई पनि भयो, अब कम्युनिष्टहरू मिलौँ भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ। कांग्रेसका नेताहरू आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ। उहाँहरू विकल्पमा छलफल गरौँ भन्न खोज्नुहुन्छ। हामी रहर गर्नुभएको छ बोक्नुस्, भनिरहेका छौँ ।’
प्रकाशित: १२ पुस २०८१ १८:४१ शुक्रबार