वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनका कारण सबैभन्दा ठुलो बोझ महिला, युवा तथा बालबालिकामा परेको बताएका छन्।
शनिबार धनगढीमा आयोजित ‘महिला, युवा तथा बालबालिकामा जलवायु परिवर्तनको प्रभाव: सुदूरपश्चिम संवाद’ लाई सम्बोधन गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन्।
‘जलवायु परिवर्तनको सबैभन्दा ठूलो बोझ महिला, युवा तथा बालबालिकाहरूमा परेको छ,’ मन्त्री शाहीले भने, ‘विशेषगरी ग्रामीण क्षेत्रमा महिलाहरू पानी र दाउराका लागि श्रोतहरू घट्दै जाँदा लामो दूरीमा हिँड्न पर्ने बाध्यता छ।’
युवाहरूले स्थिर जीविकोपार्जनका अवसर नपाउँदा बेरोजगारी बढ्नुका साथै कामका लागि विदेश जानुपर्ने अवस्था रहेको मन्त्री शाहीले बताए। यस्तै, बालबालिकाले बढ्दो जलवायुजन्य विपद्ले गर्दा शिक्षा र स्वास्थ्य सुरक्षाबाट वञ्चित हुनुपरेको उनको भनाई छ।
मन्त्री शाहीले विश्वव्यापी बढ्दो कार्बन उत्सर्जनले पृथ्वीको तापक्रम बढ्दै जाँदा उच्च हिमाली क्षेत्र पग्लने, हिमनदी निरन्तर बढ्ने र अचानक ठुला बाढी र पहिरो आउने अवस्था बन्न थालेको बताए।
यस्तै, सुख्खा खडेरी र अनियमित मौसमी प्रक्रियाले कृषि, पर्यटन, जलविद्युत्जस्ता क्षेत्र प्रभावित भइरहेको बताए। जसले विपन्न समुदाय बढी मर्कामा परिरहेको पनि मन्त्री शाहीको भनाई छ।
प्रकाशित: १३ पुस २०८१ २०:३९ शनिबार