राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको सांसद पद निलम्बनविरुद्ध अदालत जाने तयारी गरेको छ । पूर्वाग्रहका आधारमा प्रतिनिधिसभाको सांसद पदबाट सभापति लामिछानेलाई निलम्बन गरिएको भन्दै रास्वपाले अदालत जाने तयारी गरेको हो ।
‘राजनीतिक पूर्वाग्रहका आधारमा उहाँलाई सांसद पदबाट निलम्बन गरियो भन्ने हाम्रो बुझाई छ,’ रास्वपाका कार्यबाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘त्यस कारण अदालत जाने कुरा उठेको छ । निर्णय भइसकेको छैन ।’ त्यसबारे कानुनी परामर्शमा रहेको कार्यबाहक महामन्त्री बुर्लाकोटीले बताए । ‘कानुनी परामर्शमा छौँ । परामर्शपछि आवश्यक निर्णय लिन्छौँ,’ उनले भने ।
सभापति लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा आइतबार मुद्दा दायर भएको छ । मुद्दा दायरपछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) सम्बन्धी ऐन, २०६४ को दफा २७ बमोजिम सांसद पदबाट निलम्बन गर्न संघीय संसद् सचिवालयले पत्र पठाएको थियो ।
उक्त पत्र संसद् सचिवालयमा पठाएपछि रास्वपाका नेता कार्यकर्ता भड्किएका थिए । त्यसपछि सोमबार रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सांसदहरू सोभिता गौतम र गणेश पराजुलीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन नगर्न आग्रह गरेका थिए ।
तर, साँझ संसद् सचिवालयले सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) सम्बन्धी ऐन, २०६४ को दफा २७ बमोजिम नै सभापति लामिछानेको सांसद पद निलम्बनको सूचना सार्वजनिक गरेको थियो ।
संसद् सचिवालयको सोही निर्णयविरुद्ध रास्वपाले अदालत जाने गरी छलफल थालेको बुझिएको छ ।
प्रकाशित: ९ पुस २०८१ १४:१४ मंगलबार