नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध संस्थापन (शेरबहादुर देउवा) पक्ष सर्वोच्च अदालत जाने भएको छ।
देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय अन्यायपूर्ण रहेको भन्दै सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ (अन्तरिम आदेश) आउनेमा आफूहरू ढुक्क रहेको बताएका छन्।
शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता महतले निर्वाचन आयोगले दुषित मनसाय राखेर निर्णय गरेको आरोप लगाउँदै त्यसका विरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन्।
‘हामी यसको खिलाफमा सर्वोच्च अदालत जान्छौं। यो अन्यायपूर्ण र दुषित मनसायबाट गरिएको निर्णय भएको हुनाले सर्वोच्च अदालत नै हाम्रो अन्तिम सुनुवाइ गर्ने ठाउँ हो। त्यसैले सर्वोच्चमा हामी आफ्नो ‘केस’ प्रस्तुत गर्छौं र यसको विरुद्धमा जान्छौं।’ उनले भने।
उनले थपे ‘शेरबहादुरजीको सभापतित्वमा, यो नै आधिकारिक पार्टी हो। निर्वाचन आयोगले निर्णय गर्दैमा हामी आधिकारिक नरहने भन्ने कुरा हुँदैन। भोलि हामी यसको विरुद्धमा सर्वोच्च जान्छौं।’
निर्वाचन आयोगले आफ्नो पक्षलाई नबोलाइकन एकलाैटी निर्णय गरेको उनको आरोप थियो।
‘निर्वाचन आयोगले हामीलाई बोलाउँदा पनि नबोलाइ, हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता पनि पूरा गरेन। यो नजिर, हाम्रो विधान र निर्वाचन सम्बन्धी जुन व्यवस्था छ, कुनैको पनि पालना आयोगले नगरेको हाम्रो ठहर छ।’ उनले भने।
सर्वोच्च अदालतले न्यायको पक्षमा निर्णय दिन्छ भन्ने आफूहरु विश्वास्थ रहेकाे उनले सुनाए।
‘स्टे अर्डर’ आउन सक्छ। सर्वोच्चको निर्णय नआउन्जेलसम्म अब के छोड्ने के नछोड्ने भन्ने कुरा भएन, हामी आधिकारिक नेपाली कांग्रेस हौं। हामी कानुनी लडाइँ लड्छौं, राजनीतिक रूपमा पनि प्रतिरोध गर्ने विभिन्न स्वरूप हुन सक्छन्, त्यसमा हामी छलफल गर्छौं।’
प्रकाशित: ३ माघ २०८२ १६:२३ शनिबार





