नेपाली कांग्रेस (देउवा पक्ष) ले निर्वाचन आयोगले गरेको निर्णय मुलुकको लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्र भएको बताएको छ।
आयोगले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिकता दिने निर्णय गरेलगत्तै शनिबार बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
ललितपुरको सानेपास्थित बी.पी. स्मृति भवनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आयोगको निर्णय दुषित मनसायबाट प्रेरित रहेको ठहर गरेको छ।
बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।’
विज्ञप्तिमा निर्वाचन आयोगले नेपालको संविधान, प्रचलित कानुन र आयोगकै विगतका नजिरहरूलाई लत्याएको आरोप लगाइएको छ।
शेरबहादुर देउवा नेतृत्वको वैधानिक समितिले बुझाएका प्रमाण र पत्राचारलाई बेवास्ता गर्दै आयोगले ‘तथाकथित विशेष महाधिवेशन’ लाई मान्यता दिएको भन्दै देउवा पक्षले आपत्ति जनाएको छ।
‘तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित समितिलाई अवैधानिक ढंगले परिवर्तन गरी पार्टीलाई गम्भीर क्षति पुर्याउने नियत देखिएको देउवा पक्षको दाबी छ।
आयोगको निर्णयको विरोध गर्दै देउवा पक्षले यसका विरुद्ध संवैधानिक एवं कानुनी उपचार खोज्ने र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
बैठकले निर्वाचन आयोगको माघ २ गतेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला गर्न तथा अन्य कानुनी प्रक्रिया अघि बढाउनका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पूर्ण अख्तियारी प्रदान गरेको छ।
.jpg)
प्रकाशित: ३ माघ २०८२ १६:४५ शनिबार





