२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

निर्णायक ‘मौन मतदाता’माथि उम्मेदवारको अर्जुनदृष्टि

मौन अवधिः नजिता उलटपुलटको खेल<br>

निर्वाचन कार्यक्रमअनुसार बिहीबार हुने निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार यस अवधिमा उम्मेदवारहरूले प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न पाउँदैनन् । तर यसै अवधिमा गुपचुप रूपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्छ । यही अवधिमा अधिकांश चुनावी आकलन ‘उलटफेर’ हुने गरेको विगतको अनुभव छ ।

मधेसको चुनावमा मौन अवधिलाई ‘नतिजा बदल्ने रात’ अर्थात् ‘कत्ल की रात’का रूपमा लिइन्छ । प्रतिस्पर्धामा रहेका उम्मेदवारले तटस्थ मत र विपन्न बस्तीका मतलाई खरिद गर्न मोलतोल यही अवधिमा हुने गर्छ । अन्तिम अवस्थामा पनि नतिजा उलटपुलट हुन्छ मधेसमा । यही अवधिको कसरतले जित्ने पक्का भनिएका उम्मेदावरलाई पछारेर अर्को उम्मेदवार अघि बढेका र अप्रत्यासित परिणाम आएका उदाहरण थुप्रै छन् । यो खेल मौन अवधिको रातबाट सुरु भई चुनावको अघिल्लो रातसम्म चल्छ । आसन्न निर्वाचनमा उम्मेदवार अधिकांश पैसावाला भएकाले मौन अवधिमा विगतको भन्दा बढी रकमको चलखेल हुने जानकारहरू बताउँछन् । मधेसको चुनावी अंकगणित मौन अवधिमै तय हुने गरेको ती जानकारले सुनाए ।

समुदायका अगुवाले आफ्नो पकड क्षेत्रका मत अहिले पनि आफूले चाहेको उम्मेदवारका पक्षमा खसालिदिन सक्छन् । त्यस्ता मत हासिल गर्न उम्मेदवारले उनीहरूलाई निश्चित रकम दिन्छन् । अगुवाले कति मत प्रभावित पार्न सक्छन्, त्यसैका आधारमा मौन अवधिमा उसलाई एकमुष्ट रकम उपलब्ध गराउँछन् उम्मेदवारले । ‘कतिपय अगुवाले पैसा लिएको उम्मेदवारको पक्षमा तोकेरै यति मत खसाल्न लगाउँछु भनेर सकारेका हुन्छन्,’ एक राजनीतिकर्मी भन्छन्, ‘रकम लिएजति त्यस क्षेत्रबाट भोट नआउँदा निर्वाचनपछि पैसा फिर्ता माग्ने चलनसमेत छ ।’ विगतका निर्वाचनहरूमा भोट नदिनेसँग पैसा फिर्ता लिएको, नदिँदा कुटपिट गरेको उदाहरण प्रशस्त छन् ।

आफूले नजित्ने देखेपछि प्रतिस्पधामा रहेका अर्का उम्मेदवारलाई प्रचारप्रसार खर्चमा केही रकम थप लिएर सघाउने चलन पनि छ । यसपालिको चुनावमा मधेसका गाउँसहरमा करिब ४० प्रतीशत मतदाता प्रस्ट खुल्न नसेकको अनुमान छ । ‘यो मत जता ढल्किन्छ, जित उसैको पक्षमा जान्छ । त्यसैले प्रत्यासी मौन अवधिमा मौनमत हत्याउन उम्मेदवारहरू साम, दाम, दण्ड, भेद सबै दाउ अपनाउँछन्,’ एक राजनीतिकर्मीले भने ।

यहाँका दलित तथा विपन्न बस्तिमा ‘बिराना मान्छे’ को आउजाउ बाक्लिन थालेको छ । रात परेपछि नयाँ मान्छे आउने क्रम चलेको छ । सिरहा २ नम्बर क्षेत्रको सदाय बस्तीकी एक महिलाले भनिन्, ‘भोट दिनुस्, हामी केही पर्‍यो भने सहयोग गर्छौं भनेर फकाउँदैछन् ।’

कहिल्यै नदेखिएका अनुहार लोभ्याउन यस बस्तीमा धाउन थालेको उनको भनाइ छ । आक्रामक प्रचारमा हिँडेका राजनीतिक दल मौन अवधिमा त्यही मौन मतदातालाई आफूतिर तान्न लागिपरेका छन् । सिरहा निर्वाचन–३ अन्तर्गत रहेको गोलबजार नगरपालिका १० धोवियाधारको डिलमा रहेको मुसहर बस्ती पनि राजनीतिक रूपमा ‘मौन’ छ । कुनै दलप्रति प्रतिबद्ध नभएकैले विभिन्न राजनीतिक दलले यस्ता मत आफूतिर तान्न मौन अवधि उपयोग गरिरहेका छन् ।

‘मौनअवधि अघिसम्म सतही तबरले माहोल बनाउने गरी प्रचारप्रसार गरियो, वास्तविक चुनाव त अब लागेको छ,’ एक राजनीतिक दलका जिल्ला स्तरीय नेताले भने, ‘यहाँको चुनावी नतिजा मौन अवधिमा मौन मतदातामा पारिने प्रभावबाटै निर्धारण हुन्छ ।’ समुदायका अगुवालाई प्रभावित पारेर, आफैं मतदातालाई भेटेर वा अप्रत्यक्ष रूपमा मत आकर्षित गर्ने सूत्र प्रयोग गरेर चुनावी चलखेल भइरहेको ती नेता बताउँछन् । ‘यसमा फलानो पार्टीले यस्तो गर्यो, उस्तो गर्यो भन्नुको कुनै अर्थ छैन,’ उनले भने, ‘चुनाव जित्न सबैले आफ्नो हैसियतअनुसार सूत्र प्रयोग गरिरहेका छन् ।’ 

मौन मतदाता आफ्नो लागि पार्टीभन्दा मान्छे महत्वपूर्ण ठान्छन् । त्यसैले मौन अवधिमा जुन उम्मेदवारले मतदाताको मन जित्न सक्यो उसकै पक्षमा भोट खस्छ । प्रभावशाली उम्मेदवारले निर्वाचनको पूर्वसन्ध्यामा भ्रम फैलाउन कार्यकर्तासमेत परिचालन गर्ने गरेका छन् । ‘गाउँमा गएर फलाना पार्टीका उम्मेदवारले समर्थन जनाए, हाम्रा उम्मेदवारले फलानालाई यति रकममा खरिद गरिसके, फलाना हार्दैछन् किन मत खेर फाल्नु’लगायत भ्रमपूर्ण हल्ला फैलाउने क्रम पनि बढेको छ । प्रतिस्पर्धीमा अगाडि निस्कन उम्मेदवारले यस्तो भ्रम फैलाउने गर्छन् ।

प्रकाशित: १८ फाल्गुन २०८२ १९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App