उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह अनुगमनका लागि बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन्।
उनले बिहीबार स्थलगत अवलोकन गरी बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिए । उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बञ्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको भन्दै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
‘बारम्बार फोहोरको बारेमा प्रश्न उठेपछि स्थानीयस्तरमा फोहोरको व्यवस्थापन कसरी भइरहेको छ ? जुन मापदण्डअनुसार हुनुपर्ने हो त्यहीअनुरुप भइरहेको छ की छैन ? भन्नेबारे जानकारी लिनुभएको छ,’ उपप्रधानमन्त्री सिंहको सचिवालयले भनेको छ,‘ स्थानीयले उठाएका विषयहरु के हुन् ? कसरी समाधान गर्न सकिन्छ ? त्यसबारे समन्वय गरि तदारुकताका साथ काम गर्न उहाँले भन्नुभएको छ ।’
उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटको आयुबारे चासो पनि राखेका थिए ।
शहरी विकास मन्त्रालयका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बञ्चरेडाँडा ल्याण्डफिल साइट २० वर्षमै भरिनसक्छ । तर फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्याण्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिन्छ ।
फोहोर व्यवस्थापन वैज्ञानिक नभएको, जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी दुर्गन्ध फैलाइएको भन्दै बञ्चरेडाँडाका स्थानीयहरूले ध्यानाकर्षण गराउँदै आएका छन् ।
प्रकाशित: २७ मंसिर २०८१ १५:१८ बिहीबार